शनिबार, वैशाख ८, २०८१
01:49 | ०६:३४

बेलायतमा ६५ वर्ष माथिकालाई पनि खोप शुरु

१२ लाखलाई पठाइयो पत्र

नेपाली लिङ्क फ्रेब्रवरी १४, २०२१

लण्डन । इंग्ल्याण्डमा भोलि सोमबारबाट ६५ वर्षमाथिका मानिसलाई पनि कोरोना विरुद्धको खोप दिइने भएको छ । सरकारले घोषणा गरेको अर्को चरणको खोप वितरण कार्य अन्तर्गत ६५ देखि ६९ वर्षबीचका मानिसलाई खोप दिन लागिएको हो ।

यसअघि बेलायत सरकारले प्राथामिकताका आधारमा विभिन्न चरणमा कोरोना विरुद्धको खोप वितरण गर्ने घोषणा गरेको थियो ।

हालसम्म ७० वर्षमाथिका चौथो ग्रुपका मानिसहरुलाई खोप वितरण गरिएको र अझै पनि शीर्ष समूह अन्तर्गतका स्वास्थ्यको कारणले जोखिममा परेका, केयर होम रेसिडेन्ट, अग्रपंक्तिमा काम गर्ने हेल्थकेयर वर्कर्सहरु लगायतकालाई  प्राथामिकतामा नै राखिएको छ ।

स्वास्थ्यको कारण जोखिममा रहेका ६५ वर्ष माथिका करिब १२ लाख मानिसहरुलाई पत्र पठाइएको  र नेशनल बुकिंग सर्भिसमा दर्ता गर्न भनिएको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले जनाएको छ ।

अन्य १२ लाख मानिसहरुलाई पनि आउँदो हप्ताभित्र पत्र प्राप्त हुने  एनएचएसले जानकारी दिएको छ । पत्र प्राप्त गर्नेहरुले एक सय भन्दा बढीखोप केन्द्र तथा करिब दुई सय फार्मेसीमा सम्पर्क गरि कोरोना विरुद्धको खोप लगाउन सक्नेछन्  ।

स्वास्थ्यका कारण शारीरिक रुपमा अशक्त मानिसहरुका लागि जीपी मार्फत खोप दिन सहज हुने भएकाले उनीहरुलाई जीपीमार्फत प्राथमिकता दिने पनि सरकारले जनाएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को पछिल्लो तथ्याँक अनुसार शनिबारसम्म एक करोड ४५ लाख ५६ हजार ८२७ जनाले खोपको पहिलो डोज लिएका हुन् ।

बेलायतमा दैनिक रुपमा पांच लाखभन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिने गरेका छन् । जसमध्ये पांच लाख ३४ हजार ८६९ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिएका छन् ।

बेलायतमा हाल फाइजर र अक्सफोर्डद्वारा विकसित दुईवटा खोप वितरण भइरहेको छ । एक व्यक्तिको लागि दुई डोज लगाइने उक्त खोपलाई तीन देखि चार हप्ताको फरकमा लगाइने भनिएपनि बेलायत सरकारले १२ हप्तासम्मको फरकमा लगाउने तयारी गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू