बुधबार, वैशाख १२, २०८१
18:13 | २२:५८

भ्यालेन्टाइन डेमा ‘मनको व्यथा’ पोख्दै विष्णु

नेपाली लिङ्क फ्रेब्रवरी १३, २०२१

लन्डन । बेलायतलाई कर्मथलो बनाउंदै आएका अध्यागमन सल्लाहकार, सफल व्यवसायी एवं समाजसेवी विष्णु खरेलद्वारा अभिनित ‘मनको व्यथा’ बोलको गीतमा बनाइएको म्यूजिक भिडियो ‘प्रेम दिवस’ को अवसर पारेर सार्वजनिक गरिएको छ ।

‘भ्यालेन्टाइन डे’ को पूर्वसन्ध्या फेब्रुअरी १३ का दिन गायक पवन गिरीको युट्यूब च्यानलबाट म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

म्यूजिक भिडियोमा विष्णुलाई चर्चित अभिनेत्री सुरक्षा पन्तले साथ दिएकी छन् । प्रतिक ढुंगेलको सम्पादन तथा राज पोखरेलको छायांकन रहेको म्यूजिक भिडियो निर्देशन रिजोन थापाले गरेका हुन् । फिल्म मेकिङ अध्ययन गरेका रिजोनको यो ‘डेब्यू’ निर्देशन हो ।

गायक पवन गिरीको स्वर, शब्द तथा कम्पोज रहेको उक्त गीतको संगीत संयोजन विशाल क्षेत्रीले गरेका छन् ।

‘स्लो रक’ शैलीको वियोगान्त ‘मनको व्यथा’ काठमाण्डौंमा छायांकन गरिएको हो । विष्णुले केही महिनाअघि मात्रै बेलायतका निवर्तमान राजदूत डा दुर्गाबहादुर सुवेदीले लेखेको ‘अधर’ बोलको गीतमा बेलायतमै बनाइएको म्यूजिक भिडियोबाट अभिनय यात्रा शुरु गरेका थिए ।

भिडियो सार्वजनिक भएलगत्तै दर्शक तथा स्रोताहरुबाट राम्रो प्रतिक्रिया पाएको विष्णुले जानकारी दिए । ‘नेपालको व्यवसायिक टिम र लोकप्रिय कलाकारहरुसंग अभिनय गर्न पाउंदा म गौरवान्वित छु’, खरेलले भने, ‘यसले मलाई भविष्यमा यही क्षेत्रमा थप समय दिन उर्जा मिलेको छ ।’

विष्णुका साथ अभिनय गरेकी अभिनेत्री सुरक्षा पन्त सफल नेपाली चलचित्र ‘आमा’ की नायिका हुन् । उनले अन्य कयौं चलचित्र र म्यूजिक भिडियोबाट ख्याति कमाइसकेकी छन् ।

‘मनको व्यथा’ म्यूजिक भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू