शनिबार, वैशाख १५, २०८१
06:08 | १०:५३

बेलायत कोरोना अपडेट: संक्रमण जुलाईयताकै न्यून

नेपाली लिङ्क फ्रेब्रवरी १२, २०२१

लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमणको तह निरन्तर घट्दै गएको सरकारी तथ्याँकले देखाएको छ । पछिल्लो तथ्याँक अनुसार संक्रमण मापन दर (आर)  0.७ देखि 0.९ को बीचमा छ जुन जुलाइयताकै सबैभन्दा कम हो ।

हाल जारी लकडाउनका कारण संक्रमण दरमा कमी आएको अधिकारीहरुले बताएका छन्  । यद्यपि संक्रमण दर अझै उच्च रहेको विज्ञहरुले चेतावनी दिएका छन् ।

गएको २४ घन्टामा थप १५ हजार १४४ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । बेलायतमा कोरोना संक्रमण दर लगातार २० हजार भन्दा कम भएको यो आठौँ दिन हो ।

यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या चार मिलियन नाघेको छ । शुक्रबारसम्म संक्रमितको संख्या ४० लाख १३ हजार ७९९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ७५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख १६ हजार २८७ पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

संक्रमण दरमा कमी आएसंगै बेलायतका अस्पतालमा उपचार गराउनेको संख्या पनि घटेको स्वास्थ्य विभागले जनाएको छ ।

हाल बेलायतको अस्पतालमा २४ हजार ३५२ जनाको उपचार भइरहेको छ भने करिब तीन हजार कोरोना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा एक करोड ४० लाख बढीले लगाए खोप

बेलायतमा एक करोड ४० लाख भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को पछिल्लो तथ्याँक अनुसार हालसम्म एक करोड ४० लाख १२ हजार २४४ जनाले खोपको पहिलो डोज लिएका हुन् ।

जसमध्ये पांच लाख ३० हजार ९४ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू