बुधबार, वैशाख १२, २०८१
18:30 | २३:१५

पवन गिरीको गीतमा सुरक्षा पन्तसंगै झुल्किंदै विष्णु

'भ्यालेन्टाइन डे' को पूर्वसन्ध्यामा रिलिजको तयारी

नेपाली लिङ्क फ्रेब्रवरी ११, २०२१

लन्डन । विष्णु खरेल बेलायतको नेपाली समुदायमा एक सफल युवा व्यवसायीका रुपमा स्थापित छन् ।

सामाजिक कार्यहरुमा निरन्तर सक्रिय उनलाई धेरैले समाजसेवीका रुपमा पनि चिन्छन् । तर पछिल्लो समय उनको चिनारीमा अर्को पाटो थपिएको छ-अभिनेताको ।

केही महिनाअघि मात्रै बेलायतका निवर्तमान राजदूत डा दुर्गाबहादुर सुवेदीले लेखेको ‘अधर’ बोलको गीतमा बेलायतमै बनाइएको म्यूजिक भिडियोबाट अभिनय यात्रा शुरु गरेका विष्णुले यतिबेला नेपाल पुगेर अर्को भिडियो गर्न भ्याइसकेका छन् ।

नेपाल आइडलबाट लोकप्रिय बनेका गायक पवन गिरीको ‘मनको व्यथा’ बोलको नयाँ गीतमा चर्चित अभिनेत्री सुरक्षा पन्तसंग विष्णु झुल्किने भएका हुन् । हालसालै युट्युवमा रिलिज भएर ट्रेन्डिङमा पर्न सफल ‘आमा’ फिल्मकी नायिका सुरक्षा अन्य कयौं चलचित्र र म्युजिक भिडियोबाट ख्याति कमाइसकेकी नायिका हुन् ।

रिजोन थापाले निर्देशन गरेको म्यूजिक भिडियोको छायांकन पूरा भएको र अहिले सम्पादनका क्रममा रहेको विष्णुले नेपाली लिंकलाई जानकारी दिएका छन् ।

‘भ्यालेन्टाइन डे’ को पूर्वसन्ध्यामा फेब्रुअरी १३ का दिन गायक पवन गिरीको युट्युब च्यानलबाट गीत सार्वजनिक गर्ने तयारी रहेको उनले सुनाए ।

‘स्लो रक’ शैलीको वियोगान्त ‘मनको व्यथा’ मा गायनसंगै शब्द र संगीत पनि गिरीकै छ ।

व्यवसाय र समाजसेवासंगै अभिनय यात्रामा पनि अघि लम्किंदै गरेका विष्णुले कलाकारितालाई आफ्नो प्यासनका रुपमा लिन्छन् ।

‘रहरै रहरमा गरेको पहिलो म्यूजिक भिडियोमा दर्शकबाट राम्रो प्रतिक्रिया आयो । अहिले राष्ट्रिय रुपमै प्रतिष्ठा कमाएका गायक, अभिनेत्री लगायतको प्रोफेसनल टीमबाट अफर आएपछि इन्कार गर्न मन लागेन’, विष्णुले सुनाए, ‘यो प्रोजेक्टमा मैले धेरै कुरा सिक्ने अवसर पाएको छु । झनै स्तरीय र गुणस्तरीय भिडियो बन्नेछ भन्ने आशा राखेको छु ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू