शुक्रबार, चैत १६, २०८०
01:09 | ०६:५४

बेलायतमा निधन भएका गुल्मीका पुन दम्पतिको एकैसाथ अन्त्येष्टि

नेपाली लिङ्क फ्रेब्रवरी ९, २०२१

लन्डन । बेलायतमा गत महिना निधन भएका एक नेपाली दम्पतिको मंगलबार एकैसाथ अन्त्येष्टि भएको छ ।

जनवरी पहिलो साता चार दिनको फरकमा निधन भएका विजय पुन र उनकी पत्नी रत्नकुमारी गुरुङ पुनको साउथ इष्ट लन्डनस्थित हिदर ग्रिन क्रिमेटोरियममा अन्त्येष्टि भएको हो ।

पुन परिवारका आफन्त समेत रहेका एनआरएनए यूकेका पूर्व युवा संयोजक कुमार थापाका अनुसार मगर समुदायको पितृ संस्कारअनुरुप अन्त्येष्टि गरिएको हो ।

कोरोना महामारीका कारण लागू प्रतिवन्धका कारण अन्त्येष्टिमा मृतकका छोरा, छोरीहरु, परिवार र आफन्त गरी जम्मा ३० जनाको मात्रै सहभागिता थियो ।

त्यसअवसरमा गुल्मी जिल्ला समाज यूके, हङकङ नेपाली मञ्च यूके, भार्सेली समाज यूके, टनब्रिज नेपाली समाज यूकेसहित बेलायतस्थित केही संघसंस्थाका प्रतिनिधि पनि सहभागी थिए ।

यसअघि करिब ५० वर्ष उमेर भएका पुन दम्पतिको ४ दिनको अघिपछि निधन भएको थियो ।

जनवरी ३ तारिखका दिन पत्नीको निधन भएको केन्टको मेइडस्टोन एण्ड टनब्रिज वेल्स हस्पिटलमा जनवरी ७ तारिखका दिन पतिको पनि निधन भएको थियो । पत्नीलाई कोरोना संक्रमण भएको थियो भने पतिबाट जन्डिस पीडित रहको उनका आफन्तले बताएका छन् ।

नेपालमा गुल्मीको शान्तिपुर घर भएका पुन परिवार पछिल्लो समय वुटवलमा बसोबास थियो । बेलायतमा उनीहरुको बसोबास केन्टमा थियो । मृतक पुन दम्पतिका एक छोरा र दुई छोरी बेलायतमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू