शनिबार, वैशाख ८, २०८१
10:54 | १५:३९

बेलायती रक्षा मन्त्रालयको सुझाव आव्हानमा भाग नलिन गेसोको फेरि अपिल

नेपाली लिङ्क फ्रेब्रवरी ८, २०२१

सभापति कृष्णकुमार राई

लन्डन । बेलायती रक्षा मन्त्रालय (एमओडी) ले पेन्सन सम्बन्धि राय सुझाव पेश गर्न गरेको आव्हानमा भाग नलिन गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले फेरि सचेत तुल्याएको छ ।

समानताका लागि आन्दोलनरत एक प्रमुख गोर्खा संगठन गेसोले सोमबार सार्वजनिक अपिल गर्दै एमओडीले विभिन्न भूपू संस्था र भूपू सैनिकहरुलाई १२ मार्च २०२१ सम्म पेन्सन सम्वन्धि राय सुझाव पेश गर्न भनेको र केही भूपू सैनिकहरुले सुझाव संकलन गरिरहेको भन्दै सजग रहन अपिल गरेको हो ।

‘एमओडीले हरेक वर्ष अप्रिल महिनामा महंगी भत्ता वृद्धि गर्ने गरेको छ । किन त्यसको ठिक एक महिना अगाडि भूपू सैनिकहरुबाट पेन्सन सम्बन्धि सुझाव मागिरहेको छ ?’ गेसो सभापति कृष्णकुमार राईले जारी गरेको एक सार्वजनिक अपिलमा भनिएको छ, ‘यो एमओडीको ठूलो चलाखीपूर्ण षडयन्त्र हो । किनभने प्रतिवेदनमाथि दुई देशवीच वार्ता हुंदै गर्दा गोर्खाहरुले नै यसमा सुझाव दिइसकेका छन् । बेलायत सरकार गोर्खाहरुले दिएको सल्लाह र सुझाव भन्दा दायां बायां हुन सक्दैनौं भन्ने बाटो राख्नका लागी १२ मार्च २०२१ भित्र सुझाव बुझाउनु भन्नु नै १३ वुंदे प्रतिवेदनलाई असफल बनाउनु हो ।’

गेसोले माथिका दुईवटा विषयमा कुनै पनि हालतमा भ्रममा नपर्न समेत अपिल गरेको छ । अपिल गर्दा गर्दै पनि कसैले दुवै देशको सरकारलाई बुझाइएको प्रतिवेदन असफल बनाउने दुस्साहस गर्छ भने उनीहरुलाई सार्वजनिक गर्ने चेतावनी पनि गेसोले दिएको छ । ‘खबरदार मित्रहरु, भूपू सैनिक भनेको हामी सबै हौं तसर्थ गलत काम गरेर आफ्नै खुट्टामा बन्चरो हान्ने काम कसैबाट नगरियोस् । अन्यथा ती हाम्रा पितृहरुले तपाईं हामीलाई सराप्ने छन्’, राईले भनेका छन् ।

विगत तीन दशकदेखि गेसोले अनवरतरुपमा गरेको शान्तिपूर्ण सडक, सदन र न्यायिक आन्दोलनले धेरै उपलब्धि प्राप्त गरिसकेपनि गोर्खा सैनिकहरुको समानताको आन्दोलन भने अझै नटुंगिएको अपिलमा स्मरण गरिएको छ । गेसोले फेरी पनि एक पटक आफ्नो अधिकार प्राप्तिकालागि संयुक्तरुपमा अघि बढ्नुको कुनै विकल्प नरहेको उल्लेख गरेको छ ।

भूपू गोर्खाहरुको समानताको आन्दोलन समाप्त पार्न विगतमा पनि अनेक प्रयास भएका स्मरण गर्दै गेसोले अगाडि भनेको छ, ‘माननीय किथभाज र अभिनेत्री जोआना लुम्लेलाई नेपालका बृद्धबृद्धा र तिनका परिवारहरुलाई बेलायत आउन दिए बेलायत सरकारलाई आर्थिक भार पर्छ भनि पत्रचार गर्न केही संस्था पछि परेनन् । तर, उनीहरुले त्यो पत्रलाई अस्वीकार गरिदिए । फलस्वरुप हाम्रा बृद्धबृद्धा बाबा आमा अहिले बेलायतका विभिन्न क्षेत्रमा वसोबास गरिरहेका छन् ।’

अपिलमा अगाडि भनिएको छ, ‘एउटा संस्थाले गोर्खा अफर टु ट्रान्सफर (गट) मा जानका लागि कतिपय भूपू सैनिकहरुलाई भ्रममा पारी हस्ताक्षर गराएको थियो, त्यो वास्तवमा गलत थियो । पहिले आफूले हस्ताक्षर गरि ‘गट’ लाई स्वीकार गरिसकेर अहिले यो गलत हो भन्दै अदालतमा मुद्दा लगाउने कुराले प्राविधिक समितिले तयार पारेको १३ वुंदे प्रतिवेदन उपर वार्ता हुंदै गर्दा असर पुग्ने गेसोको ठहर छ । यस खालको कार्य रोक्न सम्वन्धित ब्यक्ति र संस्थालाई गेसो अपिल गर्दछ ।’

गेसोको सार्वजनिक अपिल-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू