शनिबार, वैशाख ८, २०८१
00:18 | ०५:०३

वर्षदिनपछि नेपाल फर्किए रिन्पोछे र खेन्पो, बिसीसी यूकेद्वारा विदाई

पूर्ण गुरुङ फ्रेब्रवरी ८, २०२१


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले रिन्पोछे र खेन्पो गुरुलाई बिदाई गरेको छ । सोमबार ८ फेब्रुअरीका दिन बिसीसी यूकेका अध्यक्ष नरेश गुरुङ लगायत पदाधिकारीहरुले गुम्बा परिसरबाट खदा लगाई विदाई गरिएको हो । त्यस्तै, बिसीसी युकेका उपाध्यक्ष आङ्गदावा शेर्पा, पूर्व अध्यक्ष ले.रि. नारायण प्रसाद गुरुङ (एमबीइ) र उपाध्यक्ष धर्म तामाङ समेत विदाईका लागि हिथ्रो एयरपोर्ट पुगेका थिए । सोही अवसरमा उनीहरुले बिसीसी यूकेको निमन्त्रणामा बेलायत आएका खेन्पो गुरु छिरिङ तामाङको समेत स्वागत गरेका थिए ।

गत बर्ष बेलायत आएका रिन्पोछे लुङ्गरिक ञ्यिमा र खेन्पो ञ्यिमा सिङ्गे मगर करिब १ वर्षको बसाई पश्चात नेपाल फर्केका हुन् । उनीहरुले करिब एकवर्ष भन्दा बढी समय बिसीसी यूकेसंग आवद्ध रहेर विभिन्न धार्मिक पूजापाठ, मृत्यु कर्मकाण्ड, ग्रह शान्ति, शिल तथा वाङ्ग (आर्शिवाद) ग्रहण, बौद्ध शिक्षा, मेडिटेशन, चोई प्रशिक्षण, धार्मिक प्रवचन गराए ।

रिन्पोचे लुङ्गरिकले धार्मिक पूजापाठका साथसाथै हेरकोर र खेन्पो ञ्यिमाले ईच्छुक नेपालीहरुलाई सामबोटा लिपी सिकाएका थिए । त्यस्तै, खेन्पो ञ्यिमाले लकडाउन शुरु भए देखिनै स्थानीय बेलायतीहरुको मेडिटेशन समूह र ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) मार्फत भर्चुअल्ली ‘मेडिटेशन’ समेत गराए ।

छोटो समयमा पनि भक्तजनहरुको अपार माया पाउन सफल लामा गुरुद्वयलाई वर्तमान कोभिड–१९ का कारण सबै सहभागी भई बिदाई गर्न नपाएपनि गत शनिबार ६ फेब्रुअरीका दिन बिसीसी यूके तथा सामबोटा लिपीका विद्यार्थीहरुले संयुक्तरुपमा जुम प्रविधि (भर्चुअल) मार्फत बिदाई गरे । सो बिदाईको क्रममा दुवै जना लामा गुरुहरुले बेलायतबासी नेपाली भक्तजनहरुले दिएका माया, साथ र सहयोगका लागि धन्यवाद दिएका थिए ।

जुम प्रविधिमार्फत गरिएको उक्त औपचारिक बिदाई कार्यक्रममा बिसीसी यूकेका अध्यक्ष नरेश गुरुङले संस्थाको तर्फबाट मायाको चिनो प्रदान गर्दै विशेष धन्यवाद व्यक्त गरे । त्यस्तै, बिसीसी यूकेका कार्यसमितिका पदाधिकारी तथा सदस्य, आमा समूह, बिसीसी यूके लण्डन शाखाका पदाधिकारी तथा सदस्य, संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहकार, चोई प्रशिक्षणका विद्यार्थीहरु, शुभचिन्तक लगायतले शुभकामना मन्तब्य राखेका थिए । सो अवसरमा गुरुहरुको सम्मानमा एकसाथ चोईको प्रशिक्षण लिई सकेका विद्यार्थीहरुले बौद्ध धर्मानुसार डमरु, बज्र तथा घण्टी बजाई बिदाई गरेका थिए ।

त्यस्तै, गत शुक्रबार ५ फेब्रुअरीका दिन ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) का अध्यक्ष रामधन राई, उपाध्यक्ष नेम थापा र निवर्तमान अध्यक्ष जीब बेल्बासेले करिब एक वर्ष सम्म लगातार अनलाइनमार्फत मेडिटेशन गराएवापत खेन्पो ञ्यिमालाई प्रशंसापत्र सहित सम्मान गरेका थिए । साथै, स्थानीय रसमोर बरो काउन्सिलका मेयरले समेत गुरु खेन्पोको योगदानलाई कदर गर्दै प्रशंसा पत्र जीआरएनसीका निवर्तमान अध्यक्ष जीब बेल्वासे मार्फत पठाएका थिए ।

बिसीसी यूकेका अध्यक्ष नरेश गुरुङको अध्यक्षतामा सम्पन्न सो भर्चुअल विदाई कार्यक्रमलाई महासचिव रोविन गुरुङले सञ्चालन गरेका थिए ।

स्मरण रहोस् यसअघि बिसीसी यूकेकै निमन्त्रणामा रिन्पोचे लुङ्गरिक दोस्रो पटक र खेन्पो ञ्यिमा तेश्रो पटक बेलायत आएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू