शनिबार, वैशाख ८, २०८१
04:14 | ०८:५९

समुदायमा रोजगारी बढाउन पहल गर्दै स्वीण्डनको नेपाली समाज

नेपाली लिङ्क फ्रेब्रवरी ८, २०२१

लन्डन ।  बेलायतको स्वीण्डन क्षेत्र आसपास बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै फर्स्ट एड (प्राथमिक उपचार) सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाली समाज विल्शायर, स्वीण्डनको पहलमा गत शनिबार स्थानीय बर्कहर्स्ट कम्युनिटी हलमा तालिम संचालन गरिएको हो ।  

समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङका अनुसार तालिममा २४ जना प्रशिक्षार्थीको सहभागिता रह्यो ।  

स्थानीय ‘जेट्शो ट्रेनिङ प्रोभाइडर’ का प्रशिक्षकहरुले तालिम संचालन गरेका थिए । प्रशिक्षार्थीहरुका लागि सहुलियत दरको शुल्क मिलाइएको थियो भने हल व्यवस्थापन समाज आफैले गरेको थियो ।

समुदायका सदस्यहरुमाझ रोजगारी बढाउने उद्धेश्य राखेर प्राथमिक उपचार तालिमको पहल गरिएको समाजका अध्यक्ष गुरुङले बताए । केही महिनाअघि समाजकै पहलमा प्रदान गरिएको सेक्युरिटी तालिम प्रभावकारी बनेपछि प्राथमिक उपचार तालिमको सोच बनाइएको उनले बताए ।  

तालिमको व्यवस्थापन संयोजन समाजका सहसचिव विष्णुप्रसाद गुरुङ र सदस्य तिल मगरले गरेका थिए । तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षक एवम् सम्पूर्ण सहयोगीप्रति समाजले आभार प्रकट गरेको छ ।  

समाजले स्थानीय समुदायको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने कार्यक्रमहरु निरन्तर आयोजना गर्दै जाने अध्यक्ष गुरुङ बताउंछन् ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू