बिहीबार, चैत १५, २०८०
16:27 | २२:१२

नेकपा बेलायत पुनर्गठनको तयारी: पुडासैनी हटाएर भक्त गुरुङलाई ल्याइंदै

नेपाली लिङ्क फ्रेब्रवरी ६, २०२१

लन्डन । नेपालको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असरस्वरुप बेलायतस्थित नेकपानिकट ‘प्रवासी नेपाली एकता मञ्च’ पनि विभाजनको चरणमा पुगेको छ ।

मञ्चको ओली समर्थक समूहले आइतबार भर्चुअल रुपमै ‘विशेष राष्ट्रिय भेला’ गरी संगठन पुनर्गठनको घोषणा गर्ने भएको छ ।

स्रोतका अनुसार मञ्चका वर्तमान अध्यक्ष राजेन्द्र पुडासैनीलाई हटाएर उक्त पदमा अर्का नेता भक्त गुरुङलाई ल्याइने भएको छ । मञ्च अध्यक्ष पुडासैनी प्रचण्ड- नेपाल समूहतर्फ लागेपछि उनलाई हटाएर नयाँ अध्यक्ष चयन गर्न लागिएको हो ।

आइतबारको भेलाले भक्त गुरुङको अध्यक्षतामा ५० सदस्य बढी रहेको मञ्चको केन्द्रीय कार्यसमिति घोषणा गर्नेछ । कार्यसमितिका सचिव पूर्व माओवादीनिकट समूहबाट चयन हुनेछन् भने सहसंयोजकहरुसहित अन्य सबै पदमा दुवै तर्फको प्रतिनिधित्व गराइनेछ ।

भेलाले बेलायतका विभिन्न क्षेत्रलाई समेट्दै ६ वटा इलाका समिति पनि घोषणा गर्ने बताइएको छ ।

भेलालाई रामबहादुर थापा बादलले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैछन् । विशेष अतिथिहरु सुवासचन्द्र नेम्वाङ र टोपबहादुर रायमाझीका साथै डा राजन भट्टराई र पुष्पराज तिमिल्सिना लगायतका नेताहरु पनि भेलामा सहभागी हुनेछन् ।

आइतबार पुनर्गठन हुने मञ्चको कार्यसमिति नै बेलायतको मूल संगठन बन्ने दावी बेलायतका ओली समर्थक नेताहरुले गरेका छन् ।

‘अहिलेको संगठनमा आबद्ध साथीहरुको भारी बहुमत हामीसंगै छ । पूर्व एमालेका दुई चार जनाबाहेक अरु सबै हामी संगै छौं । पूर्व माओवादीनिकट कयौं प्रभावशाली साथीहरु पनि हामीसंगै हुनुहुन्छ’, एक नेताले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू