शनिबार, वैशाख १५, २०८१
21:13 | ०१:५८

उच्च जोखिमयुक्त मुलुकबाट बेलायत आउनेलाई होटल क्वारेन्टिन् अनिवार्य

१५ फेब्रुअरीबाट १० रात होटल क्वारेन्टाइन बस्नुपर्ने

रासस-सिन्ह्वा फ्रेब्रवरी ५, २०२१

लन्डन । कोरोना संक्रमणको उच्च जोखिम भएका मुलुकहरुबाट बेलायत फर्किएका नागरिकहरुलाई थप कडाइ गरिने भएको छ । आउँदो फेब्रुअरी १५ तारिखबाट अनिवार्य होटल क्वारेन्टाइनको नयां नियम लागू गरिने सरकारले बताएको हो ।

नयां नियम अनुसार अति जोखिमयुक्त्त मुलुकहरुबाट बेलायत फर्किएका बेलायती नागरिकहरुले १० रातसम्म होटल क्वारेन्टाइन बस्नुपर्नेछ । क्वारेन्टाइन अवधिभर सुरक्षाकर्मीको रेखदेखमा बस्नुपर्ने पनि नयां नियममा उल्लेख छ ।

क्वारेन्टाइनको लागि एअरपोर्ट आसपास हिथ्रो, गेट्वीक, लन्डन सिटी, बर्मिंगहम, ब्रिस्टोल, म्यानचेस्टर, एडिन्ब्रा, ग्लास्गो, एबर्डीन लगायतका होटलमा व्यवस्था मिलाइने बताइएको छ  ।

हालै फैलिएको कोरोना भाइरसको नयां भेरिएन्ट संक्रमण नियन्त्रणका लागि केहि साउथ अमेरिकन र नयां भाइरस देखा परेका अफ्रिकन मुलुकहरु, युनाइटेड अरब इमिरेट्स, पोर्चुगल लगायत अन्य ३३ वटा मुलुकबाट भित्रिनेहरुको लागि उक्त नयां नियम लागू गरिएको हो ।

उच्च जोखिममा परेका अन्य कतिपय मुलुकहरुमा भने यसअघि नै यात्रा प्रतिबन्ध लागू गरिएको छ । होटल क्वारेन्टाइनमा बसेकाहरुको लागि विशेष व्यवस्था गरिएको छ, जसनुरूप तीनवटा खाना, चिया कफी, फलफुल तथा पानीको व्यवस्था गरिनेछ ।

होटल क्वारेन्टाइनमा बस्ने खर्च स्वयंले व्यहोर्नुपर्नेछ । हस्पिटालिटी व्यवसायमा आवद्ध स्रोतका अनुसार दैनिक ८० पाउण्डसम्म खर्च लाग्नसक्ने छ । नयां नियम अन्तर्गत यूके तथा आइरिस नागरिकहरु प्रभावित हुनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू