शुक्रबार, चैत १६, २०८०
19:15 | ०१:००

युरोपकै टप युवा इन्भेस्टरको सूचीमा गोर्खाकी अक्सफोर्ड ग्रयाजुएट छोरी

नेपाली लिङ्क फ्रेब्रवरी ४, २०२१

लन्डन । बेलायतस्थित एक गोर्खा सैनिककी छोरी फाइनान्सियल (वित्तीय) क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने युरोपभरकै युवाको सूचीमा पर्न सफल भएकी छन् । 

युरोपकै सबैभन्दा ठूलो इन्भेस्टमेन्ट कम्पनी ‘भेन्चर क्यापिटल’ मा कार्यरत बेलिन्डा गुरुङ युरोपका टप ३० युवा ‘भेन्चर क्यापिटलिस्ट’ को सूचीमा समावेश भएकी हुन् ।

फाइनान्सियल टाइम्सको एक सहप्रकाशनले प्रकाशन गरेको सूचीमा पर्न सफल बेलिन्डा बेलायती सेनाका मेजर बुद्धि गुरुङकी छोरी हुन् । 

युरोपभरमा इन्भेस्टमेन्टका क्षेत्रमा क्रियाशिल २६ वर्ष मुनिका हजारौं युवामध्ये उत्कृष्ट प्रदर्शन गर्ने तीस जनाको सूचीमा उनी परेकी हुन् । 

फाइनान्सियल क्षेत्रमा कार्यरत युवा प्रोफेसनलहरुले प्रदर्शन गरेको नतिजा र भावी सम्भावनालाई हेरेर सूची तयार गरिएको हो । सूचीमा पर्न सफल युवाहरुलाई युरोपको फाइनान्सियल क्षेत्रका भावी नेतृत्वकर्ताका रुपमा चर्चा गरिएको छ । 

बाबुआमाको साथमा बेलिन्डा

बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयबाट पोलिटिक्स, फिलोसफी र इकोनोमिक्स ( पिपिइ) मा मास्टर्स गरेकी बेलिन्डाले सन् २०१८ मा भेन्चर क्यापिटल जोइन गरेकी थिइन् । कम्पनीमा उनी इन्भेस्टरका हैसियतमा कार्यरत छन् ।

भेन्चर क्यापिटालिस्टका रुपमा इच्छुक लगानीकर्ता र लगानीको आवश्यकतामा रहेका कम्पनीहरुबीच सम्पर्क, समन्वय र सम्झौता गरिदिने काम बेलिन्डाले गर्ने गर्छिन् । 

उनका पिता बेलायती सेनाका मेजर बुद्धि गुरुङले छोरीको सफलताप्रति गौरव व्यक्त गरेका छन् । 

‘छोरीले सानै उमेरमा पनि यो तहको प्रगति गरेको देख्दा हामी निकै गौरवान्वित छौं । हामीलाई आशा छ, उनको करियरमा अझ धेरै चम्किलो र सफल समय आउँदैछ’, गुरुङले नेपाली लिंकसंग भने । 

कास्की सिदाने पुर्ख्यौली रहेको गुरुङ परिवार पछि चितवनको भरतपुर सरेको थियो । बेलायतमा उनीहरु वकिंगहम बरोमा बस्दै आएका छन् । कामको शिलशिलामा बेलिन्डा भने अहिले लन्डनमै बस्ने गरेकी छन् । 

बेलिन्डा बाबुआमाका तीन छोरीमध्येकी माइली हुन् । २४ वर्षअघि काठमाडौंमा जन्मिएकी उनी बेलायत आउँदा तीन वर्षकी मात्रै थिइन् । बेलायतमा प्राइभेट स्कुल पढेकी उनले पछि प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयबाट मास्टर्स गरेकी हुन् । 

दिदी र बहिनीको साथमा बेलिन्डा

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू