बिहीबार, वैशाख ६, २०८१
10:15 | १५:००

पूर्व गोर्खा सुपुत्री पारु बेलायती सेनामा क्याप्टेन

नेपाली लिङ्क फ्रेब्रवरी ४, २०२१


लन्डन । बेलायतमा नेपालीको दोस्रो पुस्ताले हासिल गर्दै गरेको नयाँ उचाईको सफलता र प्रगतिको पछिल्लो उदाहरण बनेकी छन् पारु हांग्मा राई ।

भूतपूर्व गोर्खा सैनिककी छोरी उनले बेलायती सेनामा उच्च दर्जा हासिल गर्न सफल भएकी छन् ।

‘क्वीन्स् औन गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट’ बाट अवकाशप्राप्त स्टाफ सर्जेन्ट जयप्रकाश राईकी छोरी पारु केही महिनाअघि बेलायती सेनाको क्याप्टेनमा पदोन्नति भएकी हुन् ।

फर्मासिस्टको रुपमा बेलायती सेना प्रवेश गरेकी पारुले सन् २०२० को मार्चमा स्यान्डहर्स्टबाट तालिम पूरा गरेकी थिइन् । चार महिनापछि अगस्टमा पदोन्नति भएर उनी क्याप्टेन बनेकी छन् ।

यसअघि गत नोभेम्बर महिनामा पनि अर्का एक भूतपूर्व गोर्खाकी छोरी अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन बनेकी थिइन् । उनीहरुअघि बेलायती सेनामा यो तहको उच्च दर्जा हासिल गरेका नेपाली महिलाको संख्या निकै झिनो रहेको जानकारहरु बताउंछन् ।

हङकङमा जन्मिएकी २६ वर्षीया पारुको बाल्यकाल धरानमा बितेको थियो । सन् २००७ मा बेलायत आएकी उनको परिवार फार्नबरोमा बस्दै आएको छ । उनको परिवारमा पूर्व गोर्खा बाबु, आमा विमला राई र दुई दिदी तथा एक बहिनी छन् ।

नेपालमा ताप्लेजुङ जिल्लाको चङबुङ पुर्ख्यौली भएको राई परिवारको बसोबास पछिल्लो समय धरानमा रहँदै आएको छ ।

पारुले सन् २०१६ मा युनिभर्सिटी अफ रेडिङबाट ‘मास्टर्स अफ फार्मेसी’ पूरा गरेकी थिइन् । पढाइ पूरा गरेको एक वर्षपछि सन् २०१७ मा उनी फर्मासिस्टको रुपमा ‘क्वालिफाइड’ भएकी हुन् ।

आफ्नी छोरी बेलायती सेनाको क्याप्टेन पदमा पुगेकोमा पूर्व गोर्खा जयप्रकाश राई गौरवान्वित छन् । ‘मैले लामो समय सेवा गरेको संस्थामा आज छोरी पनि आबद्ध हुनु मेरो लागि निकै खुशीको कुरा हो । त्यसमाथि आफ्नै छोरीलाई क्याप्टेनजस्तो उपल्लो दर्जामा देख्न पाउँदा मलाई ठूलो गौरव र सन्तोष मिलेको छ’, उनले नेपाली लिकंसंग भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू