शनिबार, वैशाख ८, २०८१
09:27 | १४:१२

पूर्व गोर्खा आरोही पूर्जा पर्वतारोहण संघको सद्भावना दूत मनोनित

नेपाली लिङ्क फ्रेब्रवरी २, २०२१

काठमाडौं । हिमाल आरोहणमा लगातार विश्व कीर्तिमान राखेका पूर्व गोर्खा आरोही निर्मल पूर्जा नेपाल पर्वतारोहण संघको सद्भावना दूत मनोनित भएका छन् ।  

पाकिस्तान र चीनको सीमामा अवस्थित ८ हजार ६११ मिटर अग्लो ‘के टु’ हिमाल जाडो याममा पहिलोपटक सफल आरोहण गर्न सफल नेपाली टोलीका नेतृत्वकर्ता निर्मल पूर्जालाई नेपाल पर्वतारोहण संघले सद्भावना दूतमा मनोनयन गरेको हो ।  

संघले सन् २०२१ लागि आरोही पूर्जालाई सद्भावना दूत नियुक्त गरेको हो । यो अवधिमा उनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका हिमाल साथै नेपाल पर्वतारोहण संघको प्रचारप्रसार गर्नेछन् ।

यसअघि अहिलेसम्मकै सबैभन्दा कम समय ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरी किर्तिमान बनाएका पूर्जालाई १ लाख रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।

यसैबीच संघले केटु आरोहण टोलीका १० जना नेपाली आरोहीलाई नेपाल पर्वतारोहण संघको १० वर्षको सदस्यता नवीकरण शुल्क  मिनाहा गर्ने निर्णय गरेको छ ।

केटु आरोही निर्मल पुर्जासँगै मिङ्मा डेभिड शेर्पा, पेमछिरी शेर्पा,गेल्चिन शेर्पा ,पेम छिरी शेर्पा, दावातेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा छन्।

संघकी उपाध्यक्ष एवं सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाको अध्यक्षतामा गठित समितिको सुझावअनुसार शुल्क मिनाहा गरिएको थियो ।

आरोही पूर्जाले आफूले प्राप्त गरेको १ लाख रूपैयाँ पुरस्कार कुनै नौलो योजनाका साथ हिमाल आरोहण गर्न जाने नेपाली आरोहीलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

उनले नेपाल पर्वतारोहण संघ आफ्नो घरजस्तै भएकोले यसको प्रचारप्रसारमा आफू सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू