शुक्रबार, चैत १६, २०८०
13:39 | १९:२४

बेलायतस्थित नेपाली दलका संगठनद्वारा म्यानमारको सैनिक ‘कू’ को विरोध

नेपाली लिङ्क फ्रेब्रवरी २, २०२१

लन्डन । बेलायतस्थित विभिन्न नेपाली राजनीतिक दलनिकट संगठनले म्यानमारमा सेनाले प्रजातन्त्रविरुद्ध ‘कू’ गरेको भन्दै विरोध गरेका छन् ।

नेकपा, नेपाली कांग्रेस र राप्रपानिकट तीन संगठनका नेताले मंगलबार एक संयुक्त वक्तव्य जारी गर्दै सेनाले नियन्त्रणमा लिएका नेताहरुको तत्काल रिहाइको माग समेत गरेका छन् ।

प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, नेपाली जनसम्पर्क समिति यूकेका कार्यवाहक अध्यक्ष महेश दाहाल र प्रवासी नेपाली एकता समाज यूकेका संस्थापक अध्यक्ष रोशन सापकोटाले वक्तव्य जारी गरेका हुन् ।

‘म्यानमारको यस घोर अप्रजातान्त्रिक घटनाप्रति हामी प्रवासमा रहेका नेपाली समुदाय विरोध प्रकट गर्दछौं’, वक्तव्यमा भनिएको छ, ‘नियन्त्रणमा लिएका नेताहरूलाई तत्काल रिहा गरेर प्रजातान्त्रिक प्रक्रिया पालना गर्न हामी यही विज्ञप्तिमार्फत सचेत बनाउन चाहन्छौ।’ 

वक्तव्य जस्ताको तस्तै: 

म्यानमारमा सेनाले ‘कू’ गर्दै शासन सत्ता हातमा लिएकोमा बेलायतस्थित नेपालका राजनीतिक दलहरूको संयुक्त विरोध विज्ञप्तिः

सेनाले सोमबार एनएलडीकी नेतृआङ साङ सुकी र राष्ट्रपति विन मिन्ट लगायतका नेताहरुलाई गिरफ्तार गरेर सत्ताको ‘कू’ गर्दै एक वर्षका लागि संकटकाल लगाएको छ । गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी एनएलडीले बहमुत प्राप्त गरेको थियो । तर चुनावमा धाँधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो, त्यही क्रममा सोमबार शासनसत्ता हातमा लिएको सेनाले एक वर्ष संकटकाल लगाएको छ ।

म्यानमारको यस घोर अप्रजातान्त्रिक घटनाप्रति हामी प्रवासमा रहेका नेपाली समुदाय विरोध प्रकट गर्दछौं । सेनाले आइतबार रातीदेखि सत्तारूढ नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेतालाई पक्राउ गर्न थालेको थियो । स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्ट, मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरूलाई सेनाले नियन्त्रणमा लिइसक्दा नसक्दै राजधानी नेपितअ र पुरानो राजधानी रंगुनमा टेलिफोनले काम गर्न छाडिसकेको थियो । इन्टरनेट अवरूद्ध भयो । सरकारी टेलिभिजन बन्द थियो । सडकमा बख्तरबन्द सैनिक गाडी गुड्न थालेका थिए । देशमा एक वर्षका लागि संकटकाल लाग्यो। शासनसत्ता सेना प्रमुखको हातमा पुग्यो ।

झन्डै ५० वर्ष जुन्ता शासन भोगेका बर्मेलीको कर्म १० वर्षपछि फर्किएर फेरि पहिलाकै ठाउँमा आइपुगेको छ । सन् २०११ मा सैनिक शासनबाट मुक्ति पाएका र २०१५ मा आफ्नो सरकार आफैं चुनेका बर्मेलीले दोस्रोपटक चुनेको सरकारको अनुहार देख्न नपाउँदै संकटकाल भोग्नुपर्ने भएको छ । सोमबार नै देशभरिका बैंकहरूले सेवा दिन बन्द गरेका छन् । एटिएमअगाडि सयौं मानिस लाइन बसेका छन् । आन्तरिक हवाइ उडान बन्द गरिएको छ ।

बर्मेलीको भविष्य अनिश्चितताको सुरूङमा छिरेको यस घडीमा ‘कू’ को विरोध गर्दै नियन्त्रणमा लिएका नेताहरूलाई तत्काल रिहा गरेर प्रजातान्त्रिक प्रक्रिया पालना गर्न हामी यही विज्ञप्तिमार्फÞत सचेत बनाउन चाहन्छौं ।

राजेन्द्र पुडासैनी- अध्यक्ष, प्रवासी नेपाली एकता मञ्च, यूके

महेश दाहाल- कावा अध्यक्ष, नेपाली जनसम्पर्क समिति, बेलायत 

रोशन सापकोटा- संथापक अध्यक्ष, प्रवासी नेपाली एकता समाज यूके 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू