शुक्रबार, वैशाख ७, २०८१
14:46 | १९:३१

महाभियोगविरुद्धको सुनुवाईका लागि ट्रम्पले नियुक्त गरे वकिल

रासस–एएफपी फ्रेब्रवरी १, २०२१

वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाईका लागि प्रतिरक्षा गर्न दुई जना वकील नियुक्त गरेका छन् । पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध एक कार्यकालमै दुई पटक महाभियोग लागेको थियो ।

ट्रम्पले नियुक्त गरेका वकीलहरुमा डेभिड सोएन र ब्रुस एल. क्यास्टर जुनियर छन् । विगतमा ट्रम्पसँग रहेका कतिपय वकिलले विदा लिइसकेकाले थप दुई वकिल राख्नु परेको हो ।

अमेरिकी सिनेटमा आगामी फेब्रुअरी ८ देखि महाभियोगमाथि सुनुवाई हुँदैछ । ट्रम्पको गत जनवरी २० मा कार्यकाल समाप्त भए पनि अमेरिकी संसद भवनमा ट्रम्पको उक्साहटमा आक्रमण भएको भन्दै डेमोक्रेट पार्टीले उनीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाएको छ ।

अमेरिकी तल्लो सदनले महाभियोग लगाउने प्रस्ताव स्वीकृत गरी सिनेटमा पठाइसकेको छ । अमेरिकी संविधान र कानुन बमोजिम सिनेटको दुई तिहाईले पारित गरेमा मात्र कुनै पनि राष्ट्रपति विरुद्ध महाभियोग पारित हुने प्रावधान छ ।

सिनेटमा हाल रिपब्लीकन र डेमोक्रेटिक पार्टीबाट समान ५०–५० सदस्य रहेकाले ट्रम्प विरुद्धको महाभियोग पारित हुने सम्भावना भने कम छ ।

हालसम्म पाँचजना रिपब्लीकन सिनेटर सदस्यले मात्र ट्रम्प विरुद्धको महाभियोग लगाउनुपर्ने मत सार्वजनिक गरेका छन् । महाभियोग पारित हुन अझै १७ रिपब्लीकन सिनेटरले समर्थन जनाउनु पर्नेछ, जुन निकै कठिन छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू