शुक्रबार, चैत १६, २०८०
20:05 | ०१:५०

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा डा राजेन्द्र विमल र विमला तुम्खेवा पुरस्कृत

नेपाली लिङ्क जनवरी ३०, २०२१

लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२० सालको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र विमल (जनकपुर) लाई प्रदान गरेको छ ।

नेपाली भाषा, साहित्यको प्रवर्धनमा उल्लेखनीय योगदान पुरयाए बापत विमललाई नगद रु ५० हजार र सम्मान–पत्रसहित सम्मान गरिएको हो । त्यस्तै नगद रु एक लाख राशीको ‘प्रतिभा पुरस्कार–२०२०’ युवाकवयित्री विमला तुम्खेवा (तेह्रथुम) लाई प्रदान गरिएको छ ।

दुवै सम्मान तथा पुरस्कार प्रतिष्ठानद्वारा शनिबार काठमाण्डौमा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह’ मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ताम्रपत्र र नगदराशीको सम्मान थैली सम्मानित स्रष्टालाई प्रदान गरे ।

युवाकवयित्री तुम्खेवाले खसगरी समसामयिक विषयवस्तुलाई सटिक ढङ्गले कविताका माध्यमबाट उजागर गर्दै आएकी छन् । प्रखर लेखन क्षमता राख्ने तुम्खेवा महिला अधिकार सशक्तिकरणका निम्ति क्रियाशिल रहनुका साथै पत्रकारिता तथा आख्यान लेखनमासमेत सक्रिय छन् । उनका विभिन्न कवितासङ्ग्रह समेत प्रकाशित छन् ।

उता, मधेशी मुलको भएर पनि नेपाली भाषा र साहित्यको विकास र प्रवर्धनमा डा विमलले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपाली भाषाका साथै मैथिली भाषामा दक्खल राख्ने उनका एक दर्जन बढी कृति प्रकाशित छन् ।

लामो समय विश्वविद्यालयमा नेपाली भाषाको प्राध्यापन गरेका विमल सरल र शालिन व्यक्तित्वका साथै यथार्थवादी, सन्देशमूलक कथाकारको रुपमा पनि परिचित छन् ।

समारोहलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले दुई पुस्ताका सर्जक विमल र तुम्खेवासहित भाषा, कला र साहित्यका विभिन्न स्रष्टालाई सम्मान गरेर प्रतिष्ठानले नेपाली वाङ्गमयको प्रवर्धनमा महत्वपूर्ण योगदान पुरयाएको बताए ।

संस्थाले सम्मानका अलावा स्वदेश तथा विदेशका स्रष्टाको कृति प्रकाशन साथै नेपाली भाषा र साहित्यको प्रवर्धनमा समेत उल्लेख्य भूमिका निर्वाह गरेकामा संस्थाको सराहना गर्दै उनले यस्ता गतिविधिले साहित्य क्षेत्रमा नयाँ उर्जा र उत्साह पैदा हुने विश्वास समेत व्यक्त गरे ।

बहुलताबीच एकताको प्रवर्धनका पक्षमा लागेर साहित्य सिर्जनामा लागेका डा विमल तथा युवा पुस्ताको सवाललाई साहित्य मार्फत उजागर गर्ने कवि तुम्खेवाको सम्मानले साहित्य क्षेत्रमा थप उत्साह प्रदान गरेको उप्रेतीको भनाइ थियो ।

भर्चुअल माध्यमबाट मन्तब्य राख्दै प्राज्ञ–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि तिलविक्रम नेम्वाङ (बैरागी काँइला) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि साहित्य सिर्जनाले नेपाली भावनालाई एकताको शुत्रमा बांधेको उल्लेख गरे ।

भर्चुअलबाटै पुरस्कृत व्यक्तित्व डा विमलले नेपाली जहाँ जुन देशमा रहेपनि भूगोलले छेक्दैन् र भावनात्मक एकता प्रगाढ छ भन्ने सन्देश दिन पनि प्रतिष्ठानको सम्मानले जिम्मेवारी थपेको धारणा राखे ।

कथाकार गोपाल अश्कले नेपाली भाषा र मैथिली भाषाको प्रवर्धनमा विमलको महत्वपूर्ण भूमिका रहेको बताए । पत्रकार यशोदा तिमिल्सिनाले युवा पुस्ताको अब्बल प्रतिभा तुम्खेवाको लेखनयात्रालाई अझ सशक्त बनाएर लैजान सुझाव दिइन् ।

पुरस्कृत व्यक्तित्व तुम्खेवाले प्रतिष्ठानको पुरस्कारले साहित्य सिर्जनामा थप उत्साह र जिम्मेवारी थपिएको बताइन् ।

प्रतिष्ठानका मानार्थ सदस्य एवम नेपाल संयोजक शशी लुमुम्बूले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा संस्थाले निरन्तर कार्य गर्दै आएको र नेपाली साहित्य प्रवर्धनको विविधमध्येको सम्मान र पुरस्कार पनि एक महत्वपूर्ण माध्यम भएको बताए । उनले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिभा प्रतिष्ठानले अहिलेसम्म २६ जना स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरेको जानकारी दिए ।

प्रतिष्ठानले हरेक वर्ष प्रतिभा पुरस्कार र प्रतिभा सम्मानबाट एकएक स्रष्टालाई सम्मान गर्दै आएको छ । संस्थाले नेपाली साहित्य, कला र संगीत क्षेत्रमा योगदान पुरयाएका संघर्षशील युवा स्रष्टालाई प्रतिभा पुरस्कार र ५० वर्ष उमेर माथिका वरिष्ठ स्रष्टालाई प्रतिभा सम्मान प्रदान गर्दै आएको छ ।

त्यसैगरी प्रतिष्ठानले युवा स्रष्टाहरुको हौसलाका लागि बेलायतमा हरेक वर्ष अभिव्यक्ति श्रंखला पनि गर्दै आएको छ ।

प्रतिष्ठानका मानार्थ सदस्य एवं नेपाल संयोजक शशी लुमुम्बूको सभापतित्वमा सम्पन्न समारोहमा संस्थाका अध्यक्ष गणेश राईले बेलायतबाट भर्चुअल सम्बोधन गरेका थिए भने कवि गीतकार टिका चाम्लिङले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू