शुक्रबार, वैशाख १४, २०८१
01:33 | ०६:१८

बेलायतमा ७८ लाख बढीले लगाए खोप, दुई नयांको सफल परीक्षण

दुई खोप नयां भेरिएन्टलाई प्रभावकारी

नेपाली लिङ्क जनवरी २९, २०२१

लन्डन । बेलायतमा शुक्रबारसम्म ७८ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार बेलायतमा हालसम्म ७८ लाख ९१ हजार १८४ जनाले खोपको पहिलो डोज लिएका हुन् ।

जसमध्ये चार लाख ७८ हजार २५४ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा हाल फाइजर-बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित कोरोना विरुद्धको दुईवटा खोप वितरण भइरहेको छ ।

यसका साथै बेलायतले मोडर्नाको खोपलाई पनि प्रयोग अनुमति दिइसकेपनि उक्त खोप उपलब्ध हुन अझै केहि समय पर्खिनुपर्ने छ । मोडर्नाको खोप बेलायतले १७ मिलियन डोज सुरक्षित गरिसकेको छ ।

भर्खरैमात्र बेलायतमा अन्य दुईवटा खोपको पनि सफल परीक्षण भएको समाचार माध्यमले जनाएका छन् । अमेरिकी बायोटेक्नोलोजी कम्पनीद्वारा विकसित नयां खोप ‘नोभाभ्याक्स’ तेस्रो चरणको परीक्षणमा ८९ प्रतिशत प्रभावकारी देखिएको छ ।

यस खोपले कोरोनाको नयां भेरिएन्टका लागि पनि प्रभावकारी हुने बीबीसीले उल्लेख गरेको छ । बेलायत सरकारले नोभाभ्याक्सको ६० मिलियन डोज सुरक्षित गरिसकेको छ ।

यसैगरी, जोन्सन एण्ड जोन्सनको खोप एक डोज नै ६६ प्रतिशत प्रभावकारी भएको बताइएको छ । जानसेन कम्पनीद्वारा विकसित जोन्सन एण्ड जोन्सन कम्पनीको खोप पनि बेलायतले ३० मिलियन डोज सुरक्षित गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू