शुक्रबार, वैशाख १४, २०८१
08:22 | १३:०७

जनगणनामा नेपालीको सहभागिता बढाउन पहल गर्दै एनआरएनए इंग्ल्याण्ड

नेपाली लिङ्क जनवरी २९, २०२१


लन्डन । इंग्ल्याण्डमा हुन लागेको जनगणनामा सक्रिय रुपमा सहभागी हुन एनआरएनए यूकेको इंग्ल्याण्ड राज्य समन्वय परिषदले यहाँका नेपालीहरुलाई अपील गरेको छ ।

मार्च २१ मा हुने जनगणनामा इंग्ल्याण्डवासी नेपालीको सहभागिता व्यापक गर्ने पहलस्वरुप विभिन्न जानकारीमूलक कार्यक्रम गर्ने योजना समेत परिषदले बनाएको छ ।

बेलायतको ‘अफिस फर नेश्नल स्टाटिस्टिक्स’ (ओएनएस) संग प्रत्यक्ष सम्पर्क र समन्वयमा रहेर परिषदले जनचेतनामूलक काम अघि बढाएको परिषदका सचिव गोविन्द खरेलले बताए । स्थानीय नेपाली समुदायलाई जनगणनाको महत्व, यसमा सहभागी बन्दा समुदायका लागि हुने लाभ लगायत विषयमा जानकारी दिने र जनगणनामा आफ्नो विवरण भर्न प्रोत्साहित गर्ने गरी काम गरिने उनले जानकारी दिए ।

जनगणनामा व्यापक सहभागिता हुन सके बेलायतमा नेपालीहरुको पहिचान थप बलियो हुने र समुदायको लागि राज्यबाट थप सुविधाहरु उपलब्ध हुन सक्ने भन्दै परिषदले सबैलाई सहभागी हुन आव्हान गरेको छ । जनगणनाका क्रममा व्यक्तिको उमेर, स्वास्थ्य, लिङ्गदेखि उनीहरुको आस्था तथा धर्म, संस्कृति, पेशा आदिबारे प्रश्न तयार गरी सूचना संकलन गरिने र त्यो तथ्यांककै आधारमा राज्यका शिक्षा, स्वास्थ्य, समान अधिकार लगायतका महत्वपूर्ण नीति तथा योजना तर्जुमा हुने भएकाले जनगणनाको ठूलो महत्व रहने परिषदको भनाइ छ ।

‘जनगणनामा हाम्रो राम्रो उपस्थिति जनाउन सक्यौं भने धेरै फाइदा लिन सक्छौं । बेलायतको सरकारी प्रयोजनमा हाम्रो नेपाली भाषालाई मान्यता दिलाउने अभियानमा पनि जनगणना एक प्रभावकारी माध्यम बन्न सक्छ भन्ने हामीलाई विश्वास छ’, परिषदका अध्यक्ष दिपक श्रेष्ठले भने, ‘हामी बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्था, युवा, बुद्धिजिवी सबैलाई यस अभियानमा सक्रिय भएर लाग्न आग्रह गर्दछौं ।’

एनआरएनए इंग्ल्याण्ड परिषदले विगत एक महिनादेखि ओएनएससंग प्रत्यक्ष सम्पर्कमा रहेर जनगणनामा समुदायको सहभागिता बढाउनमा लक्षित तालिम तथा गोष्ठीहरुमा सहभागी बन्दै आएको उनले बताए ।

जनगणनामा इंग्ल्याण्डका नेपालीहरुको सहभागिता बढाउने लक्ष्यमा विभिन्न सूचनामुलक गतिविधि सञ्चालनका लागि एनआरएनए यूकेले इंग्ल्याण्ड परिषदलाई जिम्मेवारी दिएको हो । वेल्समा समेत मार्च २१ मै हुने जनगणनामा स्थानीय नेपालीको सहभागितालाई प्रोत्साहन गर्न वेल्स समन्वय परिषदमार्फत गतिविधि गरिने एनआरएनए यूकेको योजना छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू