मंगलबार, वैशाख ११, २०८१
15:23 | २०:०८

यूकेमा मृत्‍यु भएका पूर्व गोर्खाको अन्त्येष्टि हुन नपाउँदै श्रीमतीको निधन

१० दिनको फरकमा दम्पतिको निधन

नेपाली लिङ्क जनवरी २६, २०२१

लण्डन । बेलायतमा बस्दै आएका एक भूतपूर्व गोर्खा दम्पतिको १० दिनको फरकमा निधन भएको छ । दश दिनअघि कोरोना संक्रमणका कारण बेजिङस्टोक अस्पतालमा निधन भएका पूर्व गोर्खा क्याप्टेन हर्क बहादुर गुरुङकी पत्नी चन्द्र कुमारी गुरुङको सोमबार निधन भएको उनका छोरा अनररी लेफ्टिनेन्ट लालप्रसाद गुरुङ (बीइएम) का नम्बरी शुक्र (साइमन) तामाङले नेपाली लिँकलाई जानकारी दिए ।

उनका अनुसार ९२ वर्षका पूर्व गोर्खा गुरुङको बेजिङस्टोक हस्पिटलमा १६ जनवरीका दिन निधन भएको थियो । उनकी ९१ वर्षीया श्रीमतीको सोमबार घरमै निधन भएको  हो । श्रीमानलाई कोरोना संक्रमण भएपनि श्रीमतीलाई भने संक्रमण नभएको बताइएको छ ।  

मृतक गुरुङ दम्पति उनीहरुका जेठो छोरासँग साउथ इष्ट लण्डनमा बस्दै आएका थिए । नेपालमा पुर्ख्यौली घर स्याङ्जा जिल्ला कर्मिडाँडा रहेका उनीहरुको पछिल्लो समय पोखरा नयाँबजारमा बसोबास थियो ।  

स्वर्गीय गुरुङ दम्पतिका तीन छोरा र दुई छोरी छन् । जसमध्ये  जेठी छोरी काठमाडौँमा छन् भने बाँकी सबै बेलायतमै छन् ।

११ जना नाति-नातिनामध्ये एक नातिनी बेलायतकै पिटरबरो अस्पतालमा डाक्टर छन् ।

दश दिनअघि निधन भएका श्रीमानको अन्त्येष्टि  समेत हुन नपाउँदै श्रीमतीको पनि निधन भएपछि बेलायतको नेपाली समुदाय शोकाकुल बनेको छ ।  

बेजिङस्टोक गुरुङ समाजले स्वर्गीय गुरुङ दम्पतिको निधनमा दु:ख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू