शनिबार, वैशाख १५, २०८१
22:40 | ०३:२५

बेलायतमा अनिवार्य ‘होटेल क्वारेन्टिन्’ को नियम ल्याउने तयारी

नेपाली लिङ्क जनवरी २६, २०२१

लन्डन । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसका नयाँ-नयाँ ‘भेरियन्ट’ फेला परिरहंदा बेलायतले थप सतर्कता अपनाउने तयारी थालेको छ ।  

नयाँ भेरियन्ट फेला परेका भनिएका मुलुकहरुबाट बेलायत आउने यात्रुहरुलाई ‘होटेल क्वारेन्टिन्’ अनिवार्य गर्ने नियम ल्याउने तयारी सरकारले गरिरहेको बेलायती मिडियाले जनाएका छन् ।  

‘होटेल क्वारेन्टिन्’ को नयाँ नियमबारे प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार साँझ आफ्ना सिनियर मन्त्रीहरुसंग छलफल गर्दैछन् ।  

नयाँ नियम केही दिनभित्रै कार्यान्वयनमा आउने गरी बुधबार घोषणा हुन सक्ने ठानिएको छ । बेलायतका चारै राज्यमा छुट्टाछुट्टै घोषणा गरिएपनि समान खालको नियम लागू गर्ने सरकारको तयारी छ ।  

नयाँ नियमअनुसार कोरोना भाइरसका नयाँ भेरियन्ट देखिएका मुलुकहरुबाट बेलायत आउने सबै यात्रु अनिवार्य रुपमा १० दिनसम्म होटेल क्वारेन्टिन् बस्नुपर्नेछ । होटेलमा क्वारेन्टिन् बस्दाको खर्च समेत यात्रुहरु आफैले व्यहोर्नु पर्नेछ ।  

अनिवार्य होटेल क्वारेन्टिनको नियम अहिले कोरोना भाइरसका नयाँ भेरियन्ट फेला परिरहेका दक्षिण अफ्रिकी एवम् दक्षिण अमेरिकी मुलुकहरु र पोर्चुगल लगायत देशहरुलाई लक्षित गरिनेछ । नयाँ भेरियन्टका दृष्‍टिले ‘हाई रिस्क’ जोनमा रहेका कतिपय मुलुकबाट बेलायत आउन यसअघि नै प्रतिवन्ध लगाइएको छ ।  

अहिले संसारका धेरैजसो मुलुकबाट बेलायत आउने यात्रुहरुले पिसिआर जांचको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने नियम छ । यसरी आउनेहरुले समेत १० दिन क्वारेन्टिन् बस्नुपर्ने हुन्छ । तर, अहिले आफ्नै घरमै क्वारेन्टिन् बस्न सकिन्छ । इंग्ल्याण्डमा अन्य मुलुकबाट आएको ५ दिनपछि पिसिआर जांचको रिपोर्ट नेगेटिभ आउनेहरु थप क्वारेन्टिन् बस्नुपर्दैन ।  

बेलायतमा कोरोना संक्रमणका नयाँ केसहरु बिस्तारै ओरालो लाग्न शुरु गर्दै गर्दा सरकारले उच्च जोखिम रहेका मुलुकबाट आउने यात्रुहरुलाई होटेल क्वारेन्टिन् अनिवार्य गर्ने रणनीति बनाएको हो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू