![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/09/astrazenica.jpg)
फोटो स्काई न्यूज
लन्डन, १२ माघ — अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोभिड–१९ खोप विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही देशहरूले ‘म पहिलो’ दृष्टिकोणलाई प्राथमिकतामा राखेको भन्दै यस धारणाप्रति चासो व्यक्त गरेको छ ।
एस्ट्राजेनेकाका प्रमुख कार्यकारी पास्कल सोरियटले ‘दाभोस वल्र्ड इकोनोमिक फोरम’को विद्युतीयमाध्यममार्फत् सञ्चालित कार्यक्रममा बोल्दै घातक कोरोनाभाइरस महामारीका लागि वैश्विक तयारीको अभाव रहेको बताए ।
‘कोभिड–१९ विरूद्ध खोपको आगमन विश्वव्यापी खुशी मनाउनका लागि एक आधार हुनसक्छ तर खोपका लागि आत्म केन्द्रित व्यवहार अनपेक्षित तथा चिन्ताको विषय हो’, उनले भने, ‘विश्वव्यापी रूपमा भन्नुपर्दा हामी यो महामारीको लागि अझ राम्रो तयारी गर्नुपर्छ भन्ने कुरा न्यायसङ्गत छ ।’
सोरियटले अगाडि भने, ‘कोरोनाभाइरसले २० लाखभन्दा बढी व्यक्तिको ज्यान लिएको छ तर यसले अन्तर्राष्ट्रिय सहकार्यका लागि आँखा खोलिदिएको छ । विश्वका धेरै मुलुकमा सरकारी तथा निजी क्षेत्रलाई समन्वय गरी अघि बढ्न यसको पाठ ग्रहणीय छ ।’
औद्योगिकिकरण भएका विश्वका प्रमुख राष्ट्रहरूले रोकथामका लागि स्वास्थ्य क्षेत्रको मात्रै तीन प्रतिशत रकम खर्चिनु सुखद् नभएको उनले बताए ।
त्यही तीन प्रतिशत अन्तर्गतको २० प्रतिशत रोग पत्ता लगाउन र निर्मुलीकरणमा लगाइएको छ ।
‘यसको अर्थ हामीहरू रोग पत्ता लगाउन र यसलाई रोकथाम गर्न वा समस्यालाई सम्बोधन गर्न प्रयास गर्नुको सट्टा रोग लाग्न वा बिमारी हुनका लागि प्रतीक्षा गर्न खोजिरहेको आभास भइरहेको छ । यो पक्कै पनि सुखद् होइन्’, उनको टिप्पणी थियो ।