बेलायतमा खोपको नयाँ रेकर्ड, २४ घन्टामा झन्डै पांच लाख वितरण
५८ लाख ६० हजारलाई पहिलो डोज


लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमण उच्च रहंदा सरकारले खोप वितरणलाई पनि तीव्र पारेको छ ।
शनिबार बेलायतमा खोप वितरणको नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा झन्डै पांच लाख कोरोना विरुद्धको खोप वितरण गरिएको अधिकारीहरुले बताएका छन् ।
सरकारी तथ्यांक अनुसार एकदिनमा चार लाख ७८ हजार २४८ जनालाई खोपको पहिलो डोज दिइएको छ, जुन बेलायतमा खोप वितरण कार्य शुरु भएयताकै सबैभन्दा धेरै हो ।
योसंगै बेलायतमा खोपको पहिलो डोज लगाउनेको संख्या ५८ लाख ६० हजार पुगेको छ । चार लाख ६८ हजार ६१७ जनाले दोस्रो तथा अन्तिम डोज लगाएको सरकारी तथ्यांकले देखाएको छ ।
बेलायतमा कोरोना संक्रमण र मृत्युदर बढेसंगै यहाँका अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले बताए अनुसार हाल अस्पताल भर्ना हुनेको संख्या महामारीयताकै सबैभन्दा बढी छ भने पहिलाको तुलनामा दोब्बर बढी कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।
यसैगरी कोरोना संक्रमणका कारण भेन्टिलेटर बेडमा उपचारार्थ बिरामीको संख्या चार हजार नाघेको छ, जुन महामारी यताकै नयाँ रेकर्ड भएको अधिकारीहरुको भनाइ छ ।
सरकारद्वारा सार्वजनिक तथ्यांक अनुसार हाल ४,०७६ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ । जबकी, गतवर्ष कोरोना महामारीको पिकमा पुग्दा ३,३०१ जना भेन्टिलेटर बेडमा थिए ।
पछिल्लो २४ घन्टामा १,३४८ जना संक्रमितको मृत्यु भएको थियो भने थप ३३ हजार ५५२ जना नयाँ संक्रमित थपिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५