शुक्रबार, वैशाख १४, २०८१
18:41 | २३:२६

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न संस्था गठन

नेपाली लिङ्क जनवरी २३, २०२१


लण्डन — नेपालमा सामाजिक अभियन्ता महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई युरोपबाट सघाउन ‘फ्रेन्ड्स अफ एनआइसी नेपाल’ नामक संस्था गठन गरिएको छ ।

पुनको उपस्थितिमा गत सप्ताहन्त बसेको भर्चुएल बैठकमा राष्ट्रिय आविष्कार केन्द्र (एनआइसी) युरोप समन्वय समितिका संयोजक इन्जिनियर हरिकृष्ण न्यौपानेले ‘फ्रेन्ड्स अफ एनआइसी नेपाल’ नामक मुनाफा नकमाउने संस्था यूकेमा दर्ता गरिसकिएको र उक्त संस्थालाई यूकेकै च्यारिटी कमिशनमा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

उनले कम्पनीको बैंक खाता खोल्ने प्रक्रिया शुरु गरिएको र खाता खोल्न साथ त्यसको विवरण सार्वजनिक गरिने बताए । उनले छिट्टै काठमाडौँस्थित राष्ट्रिय आविष्कार केन्द्रलाई सघाउन चाहने जो कोहिले यूकेमा डाइरेक्ट डेबिट र विश्वभरिबाट बैंक ट्रान्सफर गर्न सकिने पनि जनाए ।

समन्वय समितिको दोश्रो बैठकमा सबै उपसमितिले आफ्नो प्रगति विवरण र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

यही जनवरी शुरुमा विभिन्न नेपाली समुदाय तथा युरोपस्थित पेशागत समूहहरुको प्रतिनिधित्व हुने गरी एनआइसी युरोप समन्वय समिति गठन गरिएको थियो । समितिको मुख्य उद्देश्य विदेशस्थित नेपालीहरुसंग रहेको सीप र विज्ञता नेपाल स्थानान्तरण गर्ने तथा नेपालमा एनआइसीले कार्यान्वयन गरिरहेका परियोजनाहरुका लागि आर्थिक सहयोग जुटाउने रहेको न्यौपानेले बताए ।

समितिले चार्टर्ड एकाउन्टेन्ट युवराज न्यौपानेको संयोजनमा च्यारिटी तथा आर्थिक समिति, इन्जिनियर घनश्याम पौडेलको संयोजनमा इन्जिनियरिङ तथा प्रविधि समिति, इ. बेद भट्टराईको संयोजनमा फन्ड रेजिङ तथा इभेन्ट कमिटी, नेप्लिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा. रमेश खोजुको अध्यक्षतामा स्वास्थ्य समिति, भगीरथ योगीको संयोजनमा मिडिया समिति तथा प्रा. पदम सिम्खडा तथा प्रा. केशव दाहालको संयोजनमा अनुसन्धान, प्रस्ताव तथा फन्डिङ कमिटी गठन गरेको छ । 

त्यसैगरी एनआइसी युरोप समन्वय समितिका सदस्यहरुमा सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेका अध्यक्ष संयुक्त श्रेष्ठ, एनआरएनए यूकेकी महिला संयोजक प्रसुना कंडेल, एनआरएनए अस्ट्रियाकी महिला संयोजक सम्झना बोहरा तथा पत्रकार अनुराधा पौडेल (फ्रान्स) छन् ।

भर्चुएल माध्यमबाट बसेको बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कोरोना संकट भन्दा पहिले नै ३२ किसिमका विभिन्न आइडिया केन्द्रमा आएको बताए । उनले व्यापारीकरण हुने सम्भावना रहेका परियाजनाहरुलाई आफूहरुले अगाडि बढाउन चाहेको जानकारी दिए । उनले युरोपमा रहेका नेपालीलाई समय,  आइडिया र आर्थिक दान दिन आग्रह गरे । ‘आविष्कार केन्द्र नेपालको लागि कति महत्वपूर्ण छ भन्ने धेरै नेपालीलाई थाहा छैन । त्यसैले यसको प्रचारप्रसार गर्नु पर्छ’, उनले भने ।     

Email:[email protected] 

 Friends of NIC | Facebook 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू