शुक्रबार, वैशाख १४, २०८१
00:29 | ०५:१४

बेलायतमा संक्रमण घट्दो क्रममा

'आर नम्बर' घटेर शून्य दशमलव ८ देखि १

नेपाली लिङ्क जनवरी २२, २०२१

लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमण दरमा पछिल्लो समय सामान्य गिरावट देखिएको छ । भाइरस संक्रमणको सूचक मानिने ‘आर नम्बर’ घटेर शून्य दशमलव ८ देखि १ मा आएको बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुले आँकलन गरेका छन् ।

आर नम्बर एकमा रहँदा संक्रमित एक जनाले अर्को एक नयाँ मानिसमा संक्रमण सार्ने ठानिन्छ । त्यसैले यो नम्बर एक भन्दा ओरालो लाग्नुको अर्थ संक्रमण घट्दो क्रममा हुनु हो ।

केहि साताअघि बेलायतमा तेस्रो देशव्यापी लकडाउन लागू गर्ने बेला आर नम्बर १ देखि १ दशमलव ४ को बीचमा थियो । गतसाताको तथ्यांकमा आर नम्बर १ दशमलव २ देखि १ दशमलव ३ को बीचमा पाइएको थियो । गत डिसेम्बर पहिलो सातादेखि यताको अवधिमा अहिले आर नम्बर सबैभन्दा न्यून भएको हो ।

संक्रमणको दर र केसहरु दुवै ओरालो लाग्नुबाट अहिले लागू तेस्रो चरणको लकडाउनले काम गरिरहेको देखिएको छ ।  

सरकारका वैज्ञानिक सल्लाहकारहरुले बेलायतभर नै संक्रमणको दर घट्दै गएको बताएका छन् । ‘देशभर नै संक्रमण घट्दो क्रममा छ । देशका सबै क्षेत्रमा आर नम्बर एककै आसपासमा छ’, साइन्टिफिक एड्भाइजरी ग्रुप फर एमर्जेन्सिज (सेज) का वैज्ञानिकहरुले भनेका छन्, ‘तर अझै पनि संक्रमणको अवस्था उच्च छ । जोखिम बाँकी रहेकाले सावधानी उत्तिकै आवश्यक छ ।’

‘अफिस फर नेश्नल स्टाटिसिटक्स’ (ओएनएस) द्धारा जारी पछिल्लो तथ्यांकअनुसार पनि बेलायतभर नै संक्रमणका केसहरु घट्ने क्रममा छन् ।

नयाँ संक्रमणका केसहरु दैनिक १ देखि ४ प्रतिशतसम्मको दरले घटिरहेका छन् । एक साताअघि मात्रै बेलायतमा संक्रमणका केसहरु २ देखि ५ प्रतिशतले बढिरहेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू