बुधबार, वैशाख १२, २०८१
16:15 | २१:००

आयरल्याण्ड नेपाल संसदीय मैत्री समूह पुनर्गठन

नेपाली लिङ्क जनवरी २१, २०२१

लन्डन । आयरल्याण्ड नेपाल संसदीय मैत्री समूहको पुनर्गठन भएको छ । आयरल्यान्डमा गत बर्ष फेब्रुअरीमा भएको निर्वाचनपश्चात् पुनर्गठित संसदमा माननीय सीन क्रावेको संयोजकत्वमा आयरल्याण्ड नेपाल संसदीय मैत्री समूहको पुनर्गठन भएको लन्डनस्थित नेपाली दूतावासले बिहीबार जनाएको छ ।

उक्त संसदीय मैत्री समूहको अन्य सदस्यहरुमा वर्तमान सरकारका आवास, स्थानीय सरकार र सम्पदासम्बन्धि मन्त्री दाराग ओ ब्रायन, माननीयहरु जेनिफर मुरनान ओ अनर, इभाना बेसिक तथा मेरी सिरी किर्नी छन् ।

संयुक्त अधिराज्य तथा आयरल्याण्डका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा आयरल्याण्डका प्रतिनिधि सभाका सभामुख सीन ओ फर्गालीको पहलमा संसदीय मैत्री समूह पूनर्गठन भएको हो ।

नेपाल तथा आयरल्याण्डका सार्वभौम संसदहरुबीच संस्थागत सम्बन्ध स्थापना गर्ने एवं दुवै मुलुकका संसद सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचार आदानप्रदान गर्ने उद्देश्यले गणतन्त्र आयरल्याण्डको संसदमा सन् २०१८ मा आयरल्याण्ड नेपाल संसदीय मैत्री समूह स्थापना भएको थियो ।

आयरल्याण्ड र नेपालबीच १९ अगष्ट १९९९ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सौहार्द एवं मैत्रीपूर्ण सम्बन्ध रही आएको छ । यसअघि आयरल्याण्डमा आयरल्याण्ड-नेपाल मैत्री समाज एवं आयरल्याण्ड-नेपाल च्याम्बर अफ कमर्श समेतको स्थापना भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू