शुक्रबार, वैशाख ७, २०८१
18:22 | २३:०७

बेलायतबाट ओखलढुंगा अस्पताललाई अक्सिजन मेसिन

नेपाली लिङ्क जनवरी २१, २०२१

लन्डन । पुर्ख्यौली घर ओखलढुंगा भइ हाल बेलायत बस्दै आएका भक्तलाल श्रेष्ठ र श्रीमती भेष कुमारी श्रेष्ठ तथा शिवजी श्रेष्ठ र श्रीमती उर्मिला श्रेष्ठले आफ्नो निजी खर्चमा ओखलढुंगा जिल्ला अस्पताल, रुम्जाटारलाई अक्सिजन मेसिन (कन्सन्ट्रेटर) सहयोग गरेका छन् ।

ओखलढुंगा अस्पतालमा अक्सिजन अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर अक्सिजन कन्सन्ट्रेटर पठाइएको श्रेष्ठ परिवारले बताएको छ ।

अक्सिजन मेसिन एक समारोहबीच उनै श्रेष्ठका दाजुभाई विश्व श्रेष्ठ र केन्द्र श्रेष्ठले ओखलढुंगा जिल्ला अस्पताल, रुम्जाटारका प्रमुख डा सन्तोष देवलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष जय बहादुर श्रेष्ठ, सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठ, क्याम्पस प्रमुख तथा जिल्ला रेडक्रस सोसाइटी ओखलढुंगाका अध्यक्ष सुमन राजभण्डारी, जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका डिएसपी गोविन्द राज काफ्ले, सशस्त्र प्रहरी बलका डिएसपी लगायत समाजसेवीहरुको उपस्थिति थियो ।

कार्यक्रममा मेयर मोहन श्रेष्ठले विदेशमा बस्ने जिल्लावासीले आफ्नो जन्मथलो सम्झिएर जिल्लाको स्वास्थ क्षेत्रमा सहयोग पुरयाउनु मातृ ऋण तिरेको बताए । यसैगरी जिससका अध्यक्ष जय बहादुर श्रेष्ठले विदेशमा रहेका सबैले यसरी नै आफ्नो जन्मथलो सम्झिदिए जिल्लाको उन्नतिमा ठूलो भरथेग पुग्ने उल्लेख गरे ।

अक्सिजन मेसिन ग्रहण गर्दै जिल्ला अस्पताल प्रमुख डा सुमन देवले दाताहरुप्रति आभार प्रकट गरे  ।

कन्सनट्रेटर मेसिनले अटोमेटिक रुपमै अक्सिजन उत्पादन गर्ने गर्छ । यसले श्वासप्रश्वासका रोगीलाई विशेष सहायता पुग्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सन्तोष देवले बताए ।

ठूलो आकारको कन्सनट्रेटर बोकेर हिड्न नमिल्ने भएकाले हाल सहयोग बापत पाइने कन्सनट्रेटर प्रयोग गर्न सजिलो हुने समेत अस्पतालले जनाएको छ । जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको उक्त उपकरण गाडीको ब्याट्रीबाट समेत चल्ने र एम्बुलेन्समा समेत राख्न सकिनेछ ।

अक्सिजन मेसिन प्रदान गर्ने भक्तलाल श्रेष्ठले आफ्ना बुवा आमाको सम्झनामा र शिवजी श्रेष्ठले आफ्नो बुवा आमाको शिक्षा र स्वास्थ्य क्षेत्रमा केहि गरौं भन्ने इच्छा अनुसार सहयोग गरेको बताए । ‘कर्मले जन्मथलो छाडेपनि मनले जन्मथलो छाड्न सकेका छैनौं, त्यसैले यसरी सम्झियौं हामीले हाम्रो जन्मथलो’, दुवैले एक साथ बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू