मंगलबार, वैशाख ११, २०८१
17:42 | २२:२७

बेलायतमा कोभिडविरुद्धको लडाईंमा पनि गोर्खाहरु अग्रमोर्चामै

अस्पताल निर्माणदेखि मोबाइल टेस्टिङसम्ममा खटिंदै गोर्खाहरु

नेपाली लिङ्क जनवरी २१, २०२१

तस्विरहरु: गोर्खा वेल्फेयर ट्रष्ट

लन्डन । बेलायतका लागि युद्धभूमिमा सधैं अग्रमोर्चामा रहेर लड्दै आएका गोर्खा सैनिकहरु यतिबेला कोरोना महामारीविरुद्धको लडाईंमा पनि अग्रमोर्चामै खटिएका छन्   

विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण प्रयासमा गोर्खा सैनिकहरुले उल्लेख्य भूमिका निर्वाह गरिरहेका छन् ।

बेलायतमा कोरोना महामारी शुरु भएकै बेलादेखि नै गोर्खा सैनिकहरुको योगदानको प्रशंसा हुँदै आएको छ । गत वर्ष लन्डन र बर्मिंगहममा नाइटिंगेल इमर्जेन्सी अस्पताल निर्माणमा समेत उनीहरुले महत्वपूर्ण भूमिका निभाएका थिए 

गोर्खाहरुले केन्टमा लरी ड्राइभरहरुको कोरोना परीक्षणमा विशेष सहयोग पुरयाएका छन् । फ्रान्स जान इङ्लिस च्यानल पार गर्न प्रतिक्षारत लरी ड्राइभरको कोरोना परीक्षणमा ‘क्वीन्स गोर्खा इन्जिनियर’ र ‘फर्स्ट बटालियन द रोयल गोर्खा राइफल्स’ का  सैनिकहरु पनि खटिए ।

गोर्खा सैनिकहरुले देशभरका विभिन्न हाइवेमा युरोप प्रवेश गर्न लागेका ड्राइभरहरुको लागि स्थापित कोभिड टेष्ट स्टेशनहरुको व्यवस्थापन गरेका छन् । 

सन् २०२१ को शुरुमा ‘६९ फिल्ड स्क्वाड्रोन’ का सैनिकहरुलाई ‘एसिम्प्टोमेटिक लेटरल फ्लो टेस्टिङ’ गर्न केन्टमा खटाइएको थियो । हाल उनीहरुले ‘ल्याटेरल फ्लो टेष्ट र एसिम्प्टोमेटिक टेस्टिङ’ को माध्यमबाट संक्रमण दर कम गर्ने अभियानमा काम गरिरहेका छन् । केन्टमा बस्दै आएका र कोभिड लक्षण नभएकाहरुलाई प्रत्येक दुई हप्तामा यो परीक्षण गरिंदै आएको छ ।

यसैगरी, सन् २०२० को जुलाईबाट ‘क्वीन्स गोर्खा इन्जिनियर’ र ‘क्वीन्स ओउन गोर्खा लजिस्टिक’ ले वेल्समा घुम्ती परीक्षण संचालन गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्वाब संकलन गरी परीक्षण गर्ने स्थानसम्म पुरयाउने जिम्मेवारी उनीहरुले सम्हालेका थिए । साथै, एनएचएस स्टाफहरुसंग मिलेर केयर होम लगायत ठाउँहरुमा परीक्षण संचालन गर्न पनि उनीहरुले सहयोग गरेका थिए ।

गत वर्ष कोरोना महामारी शुरु भएको बेला लन्डन र बर्मिङहममा निर्माण गरिएको नाइटिंगेल इमर्जेन्सी अस्पतालमा गोर्खा सैनिकहरुले इलेक्ट्रिसियन, हिटिङ एण्ड प्लम्बिङ,एअर कन्डिसन र रेफ्रिजेरेसन फिटिङ एवम् कार्पेन्टरको काम गरेका थिए ।

आवश्यक भन्दा बढी घण्टा काम गरेर छोटो समयमा अस्पताल निर्माण गर्न सहयोग पुरयाएर धेरै मानिसहरुको जीवन बचाउन गोर्खालीहरुले ठूलो गुण लगाएका छन् । उनीहरुको काम र मेहनतको कदर गर्दै  एनएचएस स्टाफले ठूलो सम्मान गरे ।

बेलायतका लागि दुई सय वर्ष अघिदेखि युद्ध लड्दै आएका गोर्खाहरुले आपत-विपतका बेला जुनसुकै क्षेत्रमा पनि सहयोग पुरयाउन तत्पर रहन्छन् भन्ने सन्देश अहिले छरिरहेका छन् ।

बेलायती सेनामा देखाएको वीरता र बहादुरीका कारण भिक्टोरिया क्रसजस्ता उच्च प्रतिष्ठित सम्मानहरु पाइसकेका गोर्खाहरु अहिले कोरोना भाइरस महामारीविरुद्ध लड्न पनि उस्तै साहस र मनोबलसहित जुटिरहेको भन्दै प्रशंसा बटुल्न सफल  भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू