शुक्रबार, वैशाख १४, २०८१
23:52 | ०४:३७

अस्पतालमा बेडको अभाव भएपछि ‘चिल्ड्रेन्स युनिट’ सारियो

नेपाली लिङ्क जनवरी २०, २०२१

लण्डन । बेलायतका अस्पतालमा कोरोना संक्रमितको संख्या बढेपछि लेइस्टरको ग्लेन्फिल्ड अस्पतालमा रहेको ‘चिल्ड्रेन्स युनिट’ खाली गरिने भएको छ ।

कोरोना संक्रमित बिरामीको उपचार गर्न सो अस्पतालमा हाल रहेको चिल्ड्रेन्स युनिटलाई बर्मिंगहम चिल्ड्रेन्स अस्पतालमा सारिने भएको हो । लेइस्टर अस्पतालका मेडिकल डाइरेक्टर एन्ड्रयु फर्लोंगले उक्त निर्णय साह्रै कठिन भएको बताएका छन् ।

गत वर्षको महामारीको पहिलो चरणमा पनि यस्तै प्रक्रिया अपनाइएकोले त्यसबाट पाठ सिकेको बताउंदै निर्णय कठिन भएपनि आगामी हप्ताको लागि ‘एडल्ट इन्टेन्सिभ केयर’ को क्षमता बढाउन यो कदम चाल्नुपरेको उनले बताएका छन् ।

गत डिसेम्बरमा १९७ जना कोरोना संक्रमितको उपचार भइरहेकोमा हाल उक्त अस्पतालमा ३६५ जना कोरोना भाइरसका बिरामीको उपचार भइरहेको छ । विशेषगरी मुटुरोग, फोक्सोको क्यान्सर तथा ब्रेष्ट सम्बन्धि उपचार गरिने यस अस्पतालमा ४१५ बेड छन् ।

बेलायतमा कोरोना संक्रमणको चाप बढेसंगै अस्पतालमा बेडको अभाव हुँदै आएको छ । बेलायतमा अहिले महामारी शुरु भएयाताकै सबैभन्दा कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । अहिले अस्पतालमा भर्ना भएका कोरोना बिरामीको संख्या ३७ हजारभन्दा बढी छ, जुन संख्या महामारीको पहिलो लहरको ‘पिक’ समयभन्दा दोब्बर बढी हो ।

पछिल्लो समय बेलायतमा कोरोना संक्रमित, मृतक र अस्पताल भर्ना हुनेको संख्यामा अहिलेसम्मकै नयाँ रेकर्ड कायम हुँदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू