शनिबार, वैशाख ८, २०८१
00:44 | ०५:२९

बेलायतमा सिंगो जनसंख्याको १० प्रतिशतलाई कोभिड

लन्डनमा १६ प्रतिशत मानिसहरुमा एन्टीबडी पोजिटिभ

नेपाली लिङ्क जनवरी १९, २०२१

लन्डन । गत वर्षको अन्तिम महिनामा बेलायतमा सिंगो जनसंख्याको १० प्रतिशतमा कोभिड संक्रमण भएको एक सर्वेक्षणले देखाएको छ ।

‘अफिस फर नेश्नल स्टाटिस्टिक्स’ (ओएनएस) ले जारी गरेको एस्टिमेटेड तथ्यांकअनुसार डिसेम्बर महिनामा बेलायतमा हरेक १० जना मानिसमा एक जनामा ‘एन्टीबडी’ (संक्रमणपछि भाइरसविरुद्ध लड्न शरीरले उत्पादन गर्ने तत्व) परीक्षणको नतिजा पोजिटिभ पाइएको हो ।

गत वर्षकै अक्टोबर महिनाको तुलनामा दुई महिनापछि डिसेम्बरमा एन्टीबडी पोजिटिभ देखिने मानिसहरुको संख्या झण्डै दोब्बर बनेको छ । अक्टोबरमा बेलायतमा २ देखि ७ प्रतिशतसम्म मानिसमा एन्टीबडी पोजिटिभ पाइएको थियो ।

एन्टीबडी पोजिटिभ पाइने दर इंग्ल्याण्डमा १२ प्रतिशत र नर्दन आयरल्याण्डमा ८ प्रतिशत रहेको जनाइएको छ । त्यस्तै, वेल्समा १० प्रतिशत नै छ भने स्कटल्यान्डमा ९ प्रतिशत छ । जसअनुसार इंग्ल्याण्डमा हरेक ८ मानिसमा एकजना, वेल्समा १० जनामा एकजना, स्कटल्याण्डमा ११ जनामा एकजना र नर्दन आयरल्याण्डमा हरेक १३ जनामा एकजनामा एन्टीबडी भेटिएको छ ।

लन्डनमा डिसेम्बर महिनामा करिब १६ प्रतिशत मानिसहरुमा एन्टीबडी पोजिटिभ पाइएको छ । जुन दुई महिनाअघि अक्टोबरको तुलनामा ५ प्रतिशतले बढी हो । गत वर्षको मे महिनामा भने लण्डनमा १५ प्रतिशत मानिसहरुमा एन्टीबडी पाइएको थियो ।

ओएनएसले संक्रमण भएका र संक्रमणपछि शरीरमा एन्टीबडी उत्पादन भएका दुवै खाले मानिसहरुको बारेमा नियमित सर्वेक्षण गर्दै आएको छ । कोभिड संक्रमणका लक्षण देखिने र नदेखिने दुवै समूहका मानिसहरुको प्रतिनिधिमूलक सहभागितामा सर्वेक्षण गर्ने गरिएको बताइएको छ ।

ओएनएसको तथ्यांकअनुसार जनवरी महिनाको ८ तारिखसम्मको एक सातामा बेलायतमा कुल ६ हजार ५ सय ८६ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू