शनिबार, वैशाख ८, २०८१
22:37 | ०३:२२

वुल्वीच फार्मेसीले बुधबारबाट कोभिड खोप प्रदान गर्ने

नेपाली लिङ्क जनवरी १८, २०२१

 लण्डन । लन्डनको वुल्वीचस्थित नेपाली व्यवस्थापनको ‘वुल्वीच लेट नाइट फार्मेसी’ ले बुधबार जनवारी २० देखि कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप सेवा प्रदान गर्ने भएको छ ।

फार्मेसीले इंग्ल्याण्डको राष्ट्रिय स्वास्थ्य सेवा विभाग (एनएचएस) बाट अनुमति पाएसँगै बुधबारबाट खोप सेवा प्रदान गर्न लागेको हो ।

वुल्वीच फार्मेसी बेलायतमा कोरोना भाइरस महामारीको अवस्था भयावह भइरहेका बेला एनएचएसबाट खोप कार्यक्रमका लागि योग्य भएर अनुमति पाउने ग्रीनवीचस्थित एकमात्र फार्मेसी हो भने लण्डनभर अनुमति पाएका १५ वटा फार्मेसीमध्ये पनि एक हो ।

एनएचएसको अनुमतिसँगै फार्मेसीका फर्मासिस्ट तथा टिमले कोरोनाविरुद्धको खोप लगाउनका लागि उच्च प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप सेवा प्रदान गर्नेछ । फार्मेसीले पहिलो चरणमा ७० वर्षभन्दा बढी उमेर भएका वृद्धवृद्धा र कमजोर स्वास्थ्य भएकाहरुलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउन लागेको हो । वुल्वीचले प्राथमिकतामा परेकाहरुलाई खोप सेवा प्रदान गर्नेछ । बेलायतमा हालसम्म प्राथमिकतामा परेका ३० लाख व्यक्तिले खोप प्राप्त गरिसकेका छन् ।

वुल्वीच फार्मेसीबाट खोप सेवा लिनका लागि ‘एनएचएस कोभिड– १९ भ्याक्सिनेशन बुकिङ सर्भिस’मा गएर आवेदन दिनुपर्नेछ । साथै, जीपीले एसएमएस तथा लेटरमार्फत कोभिड १९ भ्याक्सिनका लागि आमन्त्रित गर्नेछ । वुल्वीच फार्मेसीका सुपरिटेन्डेन्ट फर्मासिस्ट जिग्नेश मेहताले आफूहरु खोप कार्यक्रमको हिस्सा बन्न पाएकोमा खुशी व्यक्त गर्दै भने ‘हामी राष्ट्रिय स्वास्थ्य सेवाको कोरोनाविरुद्ध खोप कार्यक्रमका लागि योग्य भएकोमा खुशी छौं । बिरामीहरुलाई गुणस्तरिय सेवा दिँदै आएका हामीले अहिले भ्याक्सिन प्रदान गर्ने अनुमति पाएका छौं र आगामी दिनमा हाम्रो सेवालाई अझै विस्तार गर्नेछौं । हाम्रो टिम सेवाग्राहीबाट आउने सुझाव तथा सल्लाह अनुसार अघि बढ्न सँधै तयार छ ।’

वुल्वीच लेट नाइट फार्मेसी कोभिडविरुद्धको खोप प्रदान गर्न विभिन्न कारणले योग्य भएको मेहताको भनाई छ । वुल्वीच फार्मेसीले छिटो खोप प्रदान गर्न सक्ने, कोरोनाको समयमा पालना गर्नुपर्ने मापदण्डको पालना गरिरहेको, दैनिक १२ घण्टाभन्दा बढी समय सेवा प्रदान गरिरहेको साथै उचित तापक्रममा कोरोनाविरुद्धका १ हजार खोपहरु भण्डारण गर्नसक्ने भएकाले खोप सेवा प्रदान गर्ने अनुमति पाएको मेहताको भनाइ छ ।

बेलायत सरकारले अर्को दुई सातामा थप २०० वटा फार्मेसीहरुलाई खोप सेवा प्रदान गर्नका लागि अनुमति दिने बताइएको छ । यसका लागि वुल्वीच फार्मेसीको अन्य शाखाहरुले पनि आवेदन दिएका छन् ।

वुल्वीच फार्मेसीका निर्देशक राजन कँडेलका अनुसार फार्मेसीले अन्य शाखाहरुबाट समेत खोप सेवा प्रदान गर्ने तयारी गरेको छ । यसको लागि आफूहरु हरेक हिसावले तयार रहेको उनको भनाइ छ ।

‘बेलायत सरकारले फेब्रुअरी मध्यसम्ममा १ करोड ५० लाख व्यक्तिलाई खोप लगाउने योजना बनाएको छ । ग्रीनवीचस्थित वुल्वीच फार्मेसीले महामारी नियन्त्रणका लागि सर्वसाधारणहरुलाई खोप दिने अनुमति पाएकोमा हामी खुशी छौं’-कँडेलले भने- ‘हामीले ग्रीनवीच तथा साउथ इष्ट लन्डनका स्थानीयहरुलाई सहयोग गर्ने अवसर पाएका छौं । यसबाट हामी निकै उत्साहित छौं । साथै, हाम्रा फार्मेसीका अन्य शाखाहरुले पनि खोप सेवा प्रदान गर्नका लागि निवेदन दिएका छन् । यसका लागि हामी सबै हिसावले तयार छौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू