शुक्रबार, वैशाख १४, २०८१
18:51 | २३:३६

पूर्व मुख्यसचिव रेग्मी बेलायतको राजदूत नियुक्त

नेपाली लिङ्क जनवरी १८, २०२१

बेलायतका लागि नवनियुक्त राजदूत लोकदर्शन रेग्मी

लन्डन । बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बेलायतको राजदूत नियुक्त गरेकी हुन् ।  

राष्ट्रपति कार्यालयले एक वक्तव्य जारी गर्दै राष्ट्रपतिले नेपालको संविधानको धारा २ सय ८२ अनुसार अनुसार मन्त्रीपरिषदको सिफारिशमा रेग्मीलाई बेलायतका लागि आवासीय राजदूतमा नियुक्त गरेको जनाएको छ ।

यसअघि गत असोज १६ गते राजदूतमा सिफारिश उनको नाममा गरिएको सार्वजनिक सुनुवाईपछि संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो ।

बेलायतका लागि राजदूत नियुक्त रेग्मीले आफ्नो ४ वर्षे कार्यकाल  पूरा गरेका राजदूत डा दुर्गाबहादुर सुवेदीलाई प्रतिस्थापन गर्नेछन् । गत सेप्टेम्बर महिनामै कार्यकाल सकिएका डा सुवेदी पनि नयाँ राजदूतको नियुक्तिसंगै अब नेपाल फर्किने भएका छन् ।  

बेलायतका नवनियुक्त राजदूत रेग्मी गत असोजमा नेपाल सरकारको मुख्यसचिवबाट राजीनामा गरेको भोलिपल्टै मन्त्रीपरिषदबाट राजदूतमा सिफारिश भएका थिए ।

स्याङ्जा जिल्ला पुर्ख्यौली भएका रेग्मीले निजामती सेवामा लामो समय बिताएका छन् । गत असोजमा राजीनामा गर्नुअघिका तीन वर्ष उनी नेपाल सरकारका मुख्यसचिव थिए । त्यसअघि उनले गृह, अर्थ, भौतिक योजना लगायत महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए ।

निजामती सेवाको सर्वोच्च पदसम्म पुगेका रेग्मीको लागि कूटनीतिक क्षेत्र भने नयाँ हो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू