बुधबार, वैशाख १२, २०८१
15:53 | २०:३८

बेलायतको खोप अभियानमा जुटे नेपाली स्वयंसेवकहरु

नेपाली लिङ्क जनवरी १७, २०२१


लन्डन । बेलायत यतिखेर इतिहासमै सबैभन्दा ठूलो खोप अभियानमा जुटेको छ । कोरोना भाइरस महामारीविरुद्धको लडाईंसंग जुध्न ब्रिटेनले ८ डिसेम्बरदेखि खोप वितरण शुरु गरिसकेको छ । मध्ये फेब्रुअरीसम्म १५ करोड मानिसलाई खोप दिने सरकारी योजना छ ।

बेलायत सरकारको खोप अभियानमा नेपाली समुदायले पनि स्वयंसेवी भूमिका निर्वाह गरिरहेको छ । नेपाली जनसंख्या उल्लेख्य रहेको अल्डरसटस्थित प्रिन्सेस हल र फार्नबरोस्थित साउथउड सर्जरीमा राखिएको खोप केन्द्रमा ग्रेटर रसमोर नेपलिज कम्युनिटी 
पदाधिकारीले स्वयंसेवक भएर सहयोग गरिरहेका हुन् ।

ति केन्द्रमा रसमोर बरो काउन्सिल, एनएचएस, ग्रेटर रसमोर नेपलिज कम्युनिटी र रसमोर 
भोलेन्टियर्स सर्भिस्का पदाधिकारी संलग्न छन् ।

‘हामीले नेपाली वृद्धवृद्धालाई भाषा अनुवाद गर्नेमात्र होइन्, खोप वितरण प्रक्रियामा सबै समुदायलाई सहयोग गर्ने गरेका छौं’- रसमोर बरो काउन्सिलका उम्मेदवार एवं कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासेले नेपाली लिंकलाई बताए । ४ घण्टाको अन्तरमा हुने सिफ्टमा फरक फरक नेपालीले सघाएका छन् । ‘यस्तो महामारीका बेला खोप अभियानमा प्रत्यक्ष जोडिन पाउनु गर्वको कुरा हो’, बेल्वासेले भने, ‘महामारीबाट नेपाली समुदाय पनि प्रभावित छ । यसविरुद्धको लडाईंमा छिट्टै विजयी हुन सामूहिक प्रयासको खांचो छ ।’

ग्रेटर रसमोर नेपलिज कम्युनिटीका अध्यक्ष रामधन राई, उनको कार्यसमिति, सल्लाहकार लगायतले अभियानमा स्वतस्फूर्त सघाएका छन् । बेल्वासेले ८० वर्षमाथिका भूतपूर्व गोर्खा र अन्य नेपालीले पनि खोप लिइरहेको बताए ।

उता, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले पनि स्वयंसेवी भूमिका निर्वाह गरेको महासचिव विक्रम भट्टराईले जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू