शुक्रबार, वैशाख १४, २०८१
18:15 | २३:००

बेलायतमा प्रतिमिनेट १४० डोज खोप वितरण

हालसम्म ४३ लाख ७ हजार बढी खोप वितरण

नेपाली लिङ्क जनवरी १७, २०२१

लण्डन । बेलायत सरकारले कोरोना विरुद्धको खोप वितरण कार्यलाई युद्धस्तरमा अघि बढाएको छ । कोरोना संक्रमण वृद्धिदर भन्दा पनि तीव्र गतिमा कोरोना विरुद्धको भ्याक्सिन वितरण भइरहेको नेशनल हेल्थ सर्भिस (एनएचएस) प्रमुखले बीबीसीलाई बताएका छन् ।

पछिल्लो तथ्यांक अनुसार एक मिनेटमा १४० जनालाई कोरोना विरुद्धको खोप दिइएको सर साइमन स्टिभेन्सले बताए । शनिबारमात्र एकैदिनमा दुई लाख ९८ हजार ८७ जनालाई पहिलो डोज खोप उपलब्ध गराइएको थियो ।

खोप अझै तीव्र गतिमा अघि बढाउन आउँदो दश दिनभित्र हप्ताको सातैदिन चौबिसै घन्टा खोप वितरण गरिने भएको छ । ८० वर्षमाथिका पचास प्रतिशतले खोप पाइसकेको स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले जानकारी दिएका छन् ।

आइतबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म ४३ लाख ७ हजारभन्दा बढी खोप वितरण गरिसकिएको छ । जसमध्ये ३८ लाख ५७ हजार २६६ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४९ हजार ७३६ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् ।

सोमबारबाट खोप वितरणका लागि १० भन्दा बढी केन्द्रहरु संचालनमा आउने भएका छन् । बेलायतमा कोरोना संक्रमण, मृत्युदर र अस्पताल भर्ना हुनेको संख्याको आधारमा पछिल्लो दुई हप्तामा महामारी भएयताकै नयाँ रेकर्ड कायम भएको छ ।

सन् २०२१ को शुरुवातसंगै बेलायतमा एकैदिनमा मृत्यु हुनेको संख्या पन्ध्र सय नाघ्यो भने झन्डै ७० हजारको हाराहारीमा संक्रमित थपिए । यसैगरी अस्पतालमा उपचारार्थ संक्रमितको संख्या गत अप्रिलको उच्च विन्दुको भन्दा अहिले दोब्बर पुगेको छ ।

बेलायतमा पछिल्लो २४ घन्टामा थप ६७१ जना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९  हजार २६१ पुगेको छ । बितेको २४ घण्टाभित्र ३८ हजार ५९८ संक्रमित थपिएका छन् ।

नयाँसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३३ लाख ९५ हजार ९५९ पुगेको छ । बेलायतमा झन्डै तीन हप्ता पुग्न लाग्दा संक्रमित संख्या ४० हजारभन्दा कम भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू