बिहीबार, वैशाख १३, २०८१
21:15 | ०२:००

कोभिड खोप लिन संकोच मान्छन् बेलायतका नेपाली

बेम कम्युनिटीमा बढी हिच्किचाहट, नेपाली विज्ञ भन्छन्, 'सचेतना कार्यक्रम जरुरी'

नेपाली लिङ्क जनवरी १७, २०२१

लन्डन । बेलायतमा अल्पसंख्यक जातीय समुदायले कोभिड खोप लगाउन हिच्किचाइरहेको एक अध्ययनले देखाएको छ । बेलायत सरकारको आपतकालका लागि वैज्ञानिक सल्लाहकारहरुको समूह (सेज) ले सार्वजनिक गरेको एउटा दस्तावेजले उक्त समुदायले खोप लिने सम्भावना कम रहेको देखाएको हो ।

काला अथवा काला ब्रिटिश समूहका सबैभन्दा बढी ७२ प्रतिशत मानिस खोप नलिने मनस्थितिमा रहेको अध्ययनको निष्कर्ष छ । खोप लिन हिच्किचाउने दोश्रो ठूलो समूहमा पाकिस्तानी, बंगलादेशी छन् । उक्त समुदायका ४२ प्रतिशतले खोप लिने सम्भावना छैन् ।

पूर्वी युरोपेली समुदायसहित अन्य श्वेत जातीय समूहमा पनि खोप नलिने हिच्किचावट उच्च पाइएको छ ।

अध्ययनले जोखिमको बुझाइ, खोपप्रति न्यून आत्मविश्वास तथा विश्वासिलो प्रदायक संस्था र समुदायका नेताहरुको सचेतना पहल कमी रहेको बताएको छ ।

भ्रामक समाचारका कारण बेलायतको दक्षिण एसियाली समुदायले खोप लगाउन अस्वीकार गर्ने गरेको नेशनल हेल्थ सर्भिस (एनएचएस) इंग्ल्याण्डका एसोसिएट चिफ क्लिनिकल इन्फरमेशन अफिसर डा. हरप्रित सुद बताउंछन् । सांस्कृतिक अवरोध र भाषाले प्रमुख भूमिका खेलेको सुदले बताए ।

रोयल सोसाइटी अफ पब्लिक हेल्थले गरेको पछिल्लो सर्वेक्षणले बेम (ब्ल्याक, एसियन एण्ड माइनोरिटी इथ्नीक) समुदायमा आधा भन्दा बढीले खोप नलगाउने बताएका देखाएको छ । सर्वेक्षणमा सहभागीमध्ये ७९ प्रतिशत श्वेत र बेम समुदायले ५७ प्रतिशतमात्र खोप लगाउने बताएका थिए ।

बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डमा ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा. पदम सिम्खडा बेम ग्रुपले कोभिड मात्र नभइ विगतदेखि नै आफ्नो स्वास्थ्य सुरक्षा अपनाउन आनाकानी गर्ने गरेको बताउंछन् ।

‘काला जातीका मानिसहरु स्मेयर टेष्ट, प्रोटेस्ट क्यान्सर जस्ता रोगको परीक्षण गर्न त हिच्किचाएको पाइएको छ’, सिम्खडाले भने, ‘यसमा मानिसहरुको अन्धविश्वास, धर्म, अध्ययन र भाषा दक्षताको कमी आदि पक्षले पनि उल्लेख्य भूमिका खेलेको छ ।’

कोभिड खोपमा मानिसहरुको विश्वास अझै नबढ्नुमा मिडियाको नकारात्मक कभरेजलाई पनि दोष दिन्छन् सिम्खडा । ‘फ्लु भ्याक्सिन ५० प्रतिशतमात्र प्रभावकारी हुन्छ । कोभिड त ९० प्रतिशतसम्म प्रभावकारी र सुरक्षित पाइएको छ’, सिम्खडाले भने, ‘खोप विकास गर्ने वैज्ञानिक आफैंले खोप लगाएका छन् । हामीले विज्ञानलाई विश्वास गर्नै पर्छ । ९० प्रतिशत भनेपछि सय जनामा १० जनालाई त काम नगर्न सक्छ नि ।’

सिम्खडाले बेलायतको नेपाली समुदायका नेताहरुले पनि नेपालीलाई खोप लगाउन प्रेरित हुने खालका कार्यक्रम ल्याउन सुझाए । ‘खोपको अवसर पाएकाले पनि नलिएको मैले नै थाहा पाएको छु’, उनले भने, ‘त्यस्तो डराउनु पर्ने केही छैन् । मैले पाउने भए भोलि नै लगाउंथे ।’

गत बिहीबार खोप दिएकी सेन्ट्रल मिडलसेक्स अस्पतालमा कार्यरत शशी गुरुङले आफूलाई सामान्य पाखुरा दुखाइ बाहेक अरु केही नभएको बताइन् । ‘मसंगै काम गर्ने धेरै जसो काला जातीले म त नलगाउने मरिन्छ सम्म भनेको सुनें’, उनले भनिन्, ‘सारा विश्व जगतले नै लगाइरहेको अवस्थामा डराउनु पर्छ जस्तो मलाई लाग्दैन् ।’

कोभिड १९ को ठूलो चपेटामा परेको बेलायतमा अहिलो खोपलाई तीव्रता दिइएको छ । हाल बेलायतमा तीनवटा खोप कम्पनीले मान्यता पाएपनि फाइजर बायोएनटेक र अक्सफोर्ड एष्ट्राजेनेकाद्वारा विकसित खोप वितरण भइरहेको छ ।

गत डिसेम्बरदेखि १४ जनवरी शुक्रबारसम्म बेलायतमा करिब ३२ लाखले कोभिड खोप लिइसकेका छन् । पब्लिक हेल्थ इंग्ल्याण्डले १० जनवरीसम्म इंग्ल्याण्डमा ८० वर्ष माथिका एक तिहाइ (करिब दश लाख ३७ हजार) ले खोपको पहिलो डोज लगाइसकेको जनाएको छ ।

सरकारले मध्य फेब्रुअरीसम्म करिब १५ मिलियन मानिसलाई खोप दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

बेलायतका करिब एकसय मस्जिदहरुमा प्रत्येक शुक्रबार हुने प्रार्थनासभाका बेला कोभिड खोपबारे जनचेतना जगाउने कार्य शुरु गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू