शनिबार, मंसिर २९, २०८१
17:17 | २३:०२

ददि र उनको वनको सँसार

गोपी सापकोटा जनवरी १६, २०२१


ददि सापकोटा एक स्थापित लेखक तथा पत्रकार हुन् । उनले लेखेको चौथो पुस्तक हो –‘वनको वैभव’ । यो भन्दा पहिले उनका ‘पन्छी जगत्’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ पुस्तकहरु प्रकाशित भएका थिए । ‘वनको वैभव’ बजारमा अहिले आएका अरु पुस्तकहरु भन्दा अलि बेग्लै खाले पुस्तक हो । बिशेषतः बिषयबस्तुको दृष्टिले यो अरु भन्दा फरक छ ।

ददि मनमा जे लाग्यो, त्यही लेख्ने लेखक होइनन् । उनी निकै सोध खोज गरेर मात्रै लेख्ने लेखक हुन् । पहिलेका पुस्तकहरु झैं उनले यो पुस्तक पनि निकै अध्ययन र अनुसन्धान गरेर लेखेका हुन् । यसभित्र सत्तचालिस वटा लेख छन् । तिनीहरु पशुपंक्षीका आनी बानी र व्यवहारका बारेमा छन् ।

पुस्तकको पहिलो लेख ‘ताप्केमा भ्यागुतो’मा ग्लोबल वार्मिङ्गको कुरा छ । पहिले नै तातो पानी भएको भाँडोमा भ्यागुतालाई एक्कासि राखिदियो भने उ छटपटाएर मर्छ । तर चिसो पानी राखेको ताप्केमा उसलाई राखेर विस्तारै ताप्केलाई तताउँदा भने तातो बढे पनि उ छट्पटाउँदैन । केही समयमा नै उ नयाँ तापक्रममा बानी पर्छ । तर एकदमै तातो भएपछि भने उ चल्नै सक्दैन र मर्छ । यही सन्दर्भमा लेखक सापकोटाले पृथ्वी ताप्के र हामी भ्यागुतो भएको; र पृथ्वी विस्तारै तातिरहेको कुरा गरेका छन् । ग्लोबल वार्मिङ्गले कुनै बेला कसरी थाहै नपाईकन हामीलाई एकैचोटी हानी गर्न सक्छ भन्ने खतरालाई प्रस्तुत गरेका छन् ।

त्यसो त ददिले आफ्नो पुस्तकमा अरु धेरै जनावरका बारेमा पनि लेखेका छन्, तर धेरै प्रसङ्ग भने हात्ती, बाघ र गैंडाका बिषयमा छन् । उनले जनावरका यौनको बारेमा खुलेर लेखेका छन् । मानिसले मात्र होइन, यौनको मामिलामा जनावरले पनि जबरजस्ती र बलात्कार गर्छन् भन्ने कुरा लेखेका छन् ।

बाघको सन्दर्भमा उनी भन्छन्, ‘बघिनीहरु आफ्ना बच्चाहरु साथमा हुँदा र उनीहरुलाई सुरक्षीत हुर्काउने तनाव हुँदा सेक्सका लागि तयार हुँदैनन् । त्यो कुरा बाघलाई थाहा हुन्छ । त्यसैले बाघले बघिनीलाई सेक्सका लागि छिटो तयार बनाउन डमरुलाई मार्न खोज्छ ।  बघिनीहरुले बाघको बलात्कारबाट जोगीन र बच्चालाई जोगाउन आफ्नै खाले नाटक गर्छन् । उनीहरुले आफ्ना बच्चाहरुसँग खेल्ने र टाढाबाट हेर्ने बाघलाई आफू अर्कै बाघसँग छु भनेर भ्रममा पार्ने गर्छन् ।’

सबै बाघहरु नरभक्षी नहुने तर मान्छेको मासु खान पल्केको बाघले पछि पनि मान्छेकै मासु खान खोज्ने कुरा लेखकले लेखेका छन् । अरु जनावरको मासु भन्दा मान्छेको मासु कोमल र नुनिलो हुने भएकाले अल्छी र अन्त शिकार गर्न नसक्ने बाघ विस्तारै नरभक्षी हुँदै जाँदो रहेछ । बाघले सामान्यतया मान्छेलाई अगाडिबाट नभई पछाडिबाट आक्रमण गर्दो रहेछ ।

वैंश आएपछि र सेक्सको चाहना भएपछि जनावरका भालेले पोथीलाई आकर्षीत गर्न विभिन्न उपाय लगाउने गर्छन् । कतिले पोथीलाई फकाउन गीत गाउँने गर्छन्, त कतिले खुट्टा बजार्ने गर्छन् । जनावरका पोथीहरुले पनि सेक्सका लागि सबैभन्दा सुन्दर र बलियो भालेलाई छान्ने गर्छन् । कहिलेकांही त भालेको क्षमता जाँच्न र सफल भालेलाई छान्न एक अर्कालाई भिडाउने पनि गर्छन् ।

जनावरहरुको नेतृत्वको कुरालाई पनि ददिले लेखेका छन् । ‘नेतृत्व सिक्नुस् हात्तीबाट’ भन्ने लेखमा हात्तीले आफ्नो समूहलाई एकदमै कुशल तरिकाले सम्हाल्ने र आवश्यक परेको बेलामा राम्रो सञ्चार स्थापना गर्ने गर्छन् भनिएको छ । जनावरमा पनि मानिसमा जस्तै अरु भन्दा आफू बलियो र शक्तिशाली छु भनेर देखाउने प्रवृती हुँदोरहेछ । आफ्नो शक्ति देखाउन बाघले रुखमा कोतरेर आफ्ना नंग्राको छाप छोड्दो रहेछ ।

गोहीका बच्चाहरुले भने फुलबाट बाहिर निस्कन नपाउँदै आवाज निकाल्दा रहेछन् । त्यही आवाज सुनेर माउ गोहीहरुले फुल फुटेर बच्चा निस्कने बेला भयो भन्ने थाहा पाउँदा रहेछन् र फुल भएको ठाउँमा जाँदा रहेछन् ।

त्यस्तै जनावरहरुले पनि मानिसले जस्तै संगीत मन पराउने कुरा पुस्तकमा लेखिएको छ । तर उनीहरुले मन पराउने संगीत मानिसले मन पराउने भन्दा थोरै फरक हुँदो रहेछ । केही संगीत बिशेषज्ञहरुले बिरालाका लागि छुट्टै संगीत बनाएर परिक्षण गरिरहेको कुरा पुस्तकमा उल्लेख छ ।

मान्छे र घर पालुवा जनावर बीच एक प्रकारको सम्बन्ध रहने कुरा ददिले लेखेका छन् । मान्छे निराश भएमा उसले पालेका पशुहरु पनि बिरामी पर्ने गरेको कुरा पुस्तकमा छ । कमिलाको कामको प्रशंसा गर्दै उनीहरुले आफु भन्दा धेरै गुणा गह्रौं सामान पनि सजिलै उठाउन सक्ने कुरा ददिले लेखेका छन् ।

त्यस्तै कमिलाको ट्राफिक ब्यवस्थापनको उनले प्रसंशा गरेका छन् । उनीहरु त्यसमा माहिर हुँदा रहेछन् । मानिसको हकमा जति धेरै मानिस र गाडी भयो, त्यति धेरै ट्राफिक जाम हुन्छ । तर कमिलाको सन्दर्भमा भने जति धेरै कमिला भए, त्यति छिटो उनीहरु दुगुर्दा रहेछन् । आफूले बोकेको खानेकुरालाई त्यति नै छिटो भण्डार गर्न सक्दा रहेछन् ।

जनावरले पनि आफूभन्दा ठूला र बलियाको चाकरी गर्दा रहेछन् भन्ने कुरा पुस्तकबाट थाहा हुन्छ । उनीहरुमा पनि मानिसमा जस्तै नेतृत्व र गुटबन्दीको चलखेल हुँदो रहेछ । बाँदरहरुले आफूभन्दा माथिकालाई मात्रै सहयोग गर्दा रहेछन् । आफूभन्दा मुनीकालाई वास्तै गर्दा रहेन्छन् ।

पुस्तक लेख्न ददि सापकोटाले अत्यन्तै मेहनत गरेको देखिन्छ । उनले जनावरका जीवनशैली बारेका बैज्ञानिक तथ्यहरु भएका करिब एक सय लेखहरु पढेको कुरा सन्दर्भ सूचीबाट थाहा हुन्छ ।

पुस्तक धेरैलाई रुचि हुने बिषयमा केन्द्रित भएर लेखिएको छ । विशेषतः जनावरका व्यवहारलाई मानिसको व्यवहारसँग तुलना गर्दै लेखिएकाले पुस्तक रोचक बनेको छ । लेखक वनको जीवनमा रुचि राख्ने मानिस हुन् । उनका आफ्ना अनुभवहरु पनि पुस्तकमा मिसिएका छन् ।

पुस्तक पढ्दा वन र वन्यजन्तुहरुका आनी बानीको बारेमा थाहा हुन्छ, उनीहरुका मन र यौनका कुरा थाहा हुन्छ । समग्रमा हेर्दा पुस्तक रमाइलो र जानकारीमूलक छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू