शनिबार, साउन १२, २०८१
06:14 | १०:५९

बेलायतमा मृत्युदर आकासिंदै, थप १२९५ को मृत्यु

४१ हजार ३४६ नयाँ संक्रमित

नेपाली लिङ्क जनवरी १६, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप १२९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज सार्वजनिक मृतक संख्या बेलायतमा महामारी शुरु भएयताकै तेस्रो सबैभन्दा बढी हो भने शनिबार सार्वजनिक तथ्यांक अहिले सम्मकै धेरै हो । यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ५९० पुगेको छ ।

यसैगरी बितेको २४ घण्टाभित्र ४१ हजार ३४६ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३३ लाख ५७ हजार ३६१ पुगेको छ ।

बेलायतमा विगत दुई हप्ताभन्दा बढी समयदेखि लगातार ४० हजार भन्दा बढी संक्रमित थपिंदै आएका छन् । हाल बेलायतका अस्पतालमा ३७ हजार भन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । बिहीबारसम्ममा ४० लाख ६ हजार ४४० डोज खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ ।

जसमध्ये ३५  लाख ५९ हजार १७९ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४७ हजार २६१ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू