बिहीबार, वैशाख १३, २०८१
19:52 | ००:३७

बेलायती सांसदको जातीय विभेदविरुद्धको समितिमा नियुक्त भए श्रेष्ठ

नेपाली लिङ्क जनवरी १५, २०२१

लण्डन । जातीय आधारमा हुने असमानता र विभेदबारे अनुगमन गरी त्यसको रोकथामका लागि रणनीति तय गर्न एक बेलायती सांसदले गठन गरेको समितिमा शिवजी श्रेष्ठ नियुक्त भएका छन् । 

बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद मारिया मिलरद्धारा गठित ‘द रिफरेन्स ग्रुप’ मा बेजिङस्टोक मल्टिकल्चरल फोरमका अध्यक्ष समेत रहेका श्रेष्ठ नियुक्त भएका हुन् । 

सांसद मिलरको नेतृत्वमा रहेको उच्चस्तरीय समितिमा स्थानीय बेजिङस्टोक काउन्सिलका मेयर डायनी टेलर, बेजिङस्टोक जिल्ला प्रहरीका प्रमुख चीफ इन्सपेक्टर क्यारेन म्याकमेनस, बेजिङस्टोक काउन्सिलका डेपुटी लिडर साइमन बाउन्ड लगायत पनि सदस्य छन् । त्यस्तै, स्थानीय बेजिङस्टोक अस्पताल ट्रस्टका प्रमुख, एल्डवर्थ स्कुलका हेडटिचरका साथै जातीय विभेदविरुद्ध क्रियाशिल समुदायका अगुवा समितिमा सदस्य छन् । 

समितिमा एशियन मूलका समुदायको प्रतिनिधित्व गर्दै श्रेष्ठलाई नियुक्त गरिएको सांसद मिलरको सचिवालयले जनाएको छ । बेजिङस्टोक मल्टिकल्चरल फोरमको अध्यक्षका हैसियतमा समितिमा उनको नियुक्ति भएको हो । 

कार्यक्षेत्रमा हुने जातीय विभेदसम्बन्धी अध्ययन र अनुगमन गरी यसको रोकथामका लागि रणनीति बनाउनु नै समितिको प्रमुख कर्तव्य रहने श्रेष्ठले बताए । कोभिड १९ महामारीबीच बेलायतमा अहिले शुरु भइसकेको कोभिड खोप वितरणमा अल्पसंख्यक समुदायको समान पहुँचका लागि समेत समितिले काम गर्ने उनले बताए । 

पूर्व मन्त्री एवम् हाल बेलायती संसद ‘हाउस अफ कमन्स्’ को महिला तथा समानता छनौट समितिकी सभापति समेत रहेकी सांसद मिलरद्वारा गठित जातीय विभेदविरुद्धको समितिमा भएको नियुक्तिलाई आफूले एक अवसरका रुपमा लिएको श्रेष्ठले बताएका छन् ।

‘बेलायतमा कुनै न कुनै रुपमा नियमितजसो उठ्दै र चर्चा आएको छ जातीय विभेदको मुद्धा । यही मुद्धालाई अझ नजिकबाट हेर्ने, अध्ययन गर्ने र रोकथामका लागि आवश्यक नीति तर्जुमा गर्ने कार्यमा योगदान गर्ने कोशिश गर्नेछु’, श्रेष्ठले नेपाली लिँकसँग भने, ‘हाम्रै नेपाली समुदायका सदस्यहरुमाथि  हुने गरेका जातीय विभेदसम्बन्धी व्यवहार नियन्त्रणमा पनि विशेष पहल रहनेछ ।’

नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठ बेलायतको नेपाली र स्थानीय दुवै समुदायमा सक्रिय रहँदै आएका छन् । 

विश्वका २७ देशबाट आएका करिब ८० वटा समुदायको प्रतिनिधित्व रहेको बेजिङस्टोक मल्टिकल्चर फोरममा उनी अध्यक्ष छन् ।   

लेबर पार्टीको बेजिङस्टोक कार्यसमितिमा पनि सदस्य रहेका  श्रेष्ठ अश्वेत, एशियन तथा अल्पसंख्यक समुदायसम्बन्धी विभागमा संयोजक छन् । केही महिनाअघि उनलाई बेलायतको ह्याम्पशायर प्रहरीले आफ्नो सल्लाहकार बोर्डमा मनोनित गरेको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू