बिहीबार, वैशाख १३, २०८१
03:01 | ०७:४६

संक्रमण बढेपछि अल्डरसट-फार्नबरो क्षेत्रमा लगाइयो थप प्रतिवन्ध

बिहीबारदेखि सबै ‘प्ले एरिया’ बन्द

नेपाली लिङ्क जनवरी १४, २०२१


लण्डन । बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसट क्षेत्रमा कोरोना संक्रमण उच्च बनेपछि स्थानीय काउन्सिलले थप प्रतिवन्ध घोषणा गरेको छ ।

उच्च संक्रमणको जोखिमलाई मध्यनजर गर्दै रश्मोर बरो काउन्सिलले स्थानीय ‘प्ले एरिया’ हरु बन्द गराएको हो ।

सरकारले देशव्यापी रुपमा लागू गरेको लकडाउनका बेला खुला राखिएका ती क्षेत्रलाई काउन्सिलले आफ्नो विशेष अधिकार प्रयोग गर्दै बन्द गराएको हो ।

बिहीबारदेखि नै रश्मोर काउन्सिलमा रहेका सबै ३९ वटा ‘प्ले एरिया’ बन्द गराइएको छ । काउन्सिलले जारी गरेको सूचनामा भनिएको छ, ‘रश्मोरका बासिन्दाहरुको सुरक्षाका लागि काउन्सिलले अतिरिक्त कदम चाल्नुपरेकाले प्ले एरियाहरु बन्द गर्ने निर्णय लिइएको छ ।’

‘प्ले एरिया’ बन्द रहेपनि पार्कहरु भने खुला रहने काउन्सिलले स्पष्ट पारेको छ ।

अल्डरसट र फार्नबरोमा कोरोना संक्रमणको दर इंग्ल्याण्डभरकै सातौं स्थानमा रहेको काउन्सिलले जनाएको छ । घोषित प्रतिवन्धमा नियमित रुपमा समीक्षा गर्दै जाने बताइएको छ ।

नेपालीहरुको उल्लेख्य बसोबास रहेको रश्मोर बरोमा धेरै पूर्व गोर्खाहरु पनि बस्दै आएका छन् । कोरोनाको फैलिदो संक्रमणबाट त्यस क्षेत्रमा अहिले धेरै नेपालीहरु पनि प्रभावित बनेको पाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू