शुक्रबार, वैशाख १४, २०८१
03:26 | ०८:११

इंग्ल्याण्ड र वेल्सको जनगणनामा नेपाली समुदायको सहभागिताका लागि अभियान चलाइने

नेपाली लिङ्क जनवरी १४, २०२१

लण्डन । ‘सेन्टर फर नेपाल स्टडिज्’ (सिएनएस) यूकेले  इंग्ल्याण्ड  र वेल्समा मार्च २१ तारिखमा हुन लागेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको बृहत सहभागिताका लागि अभियान चलाउने भएको छ ।

सिएनएस यूकेको हालै सम्पन्न बैठकले बेलायतमा नेपाली समुदायको पहिचानका लागि जनगणना महत्वपूर्ण अवसर भएकाले सोको उपयोगका लागि नेपाली समुदायलाई उत्प्रेरित गर्न अभियान चलाउने निर्णय गरेको हो ।

सिएनएस यूकेले जनगणना सञ्चालन गर्ने बेलायती निकाय अफिस फर नेश्नल स्ट्याटिटिक्स, नेपाली दूतावास लण्डन, गैरआवासीय नेपाली संघ यूके, नेपाल पत्रकार महासंघ यूके लगायतका सामुदायिक संघ संस्थासित मिलेर अभियान चलाउन लागेको बताएको छ । यसै सन्दर्भमा निकट भविष्यमा एक बृहत्तर राष्ट्रिय कार्यशाला समेत आयोजना गर्ने सोच रहेको संस्थाका कार्यकारी निर्देशक लोकेन्द्र पुरुष ढकालले जानकारी दिए ।  

अभियानका लागि सिएनएस यूकेले पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गीमगरलाई ‘रिसर्च एसोसिएट’ नियुक्त गरेको छ । खपाङ्गीमगरले हालै बेलायतको किङ्स कलेज लण्डनबाट ग्लोबल अफेयर्स विषयमा स्नातकोत्तर गरेका छन् । उनले नेश्नल इन्स्टिच्यूट फर हेल्थ रिसर्च र ब्राइटन एण्ड ससेक्स मेडिकल स्कुलले गरेको जातीय अल्पसंख्यकमा कोभिड-१९ असर विषयक अनुसन्धानमा पनि रिसर्च एसोसिएटका रुपमा काम गरेका थिए ।

यसअघि सिएनएस यूकेले ले सन् २०११ को जनगणनामा पनि नेपाली समुदायलाई सहभागी गराउनका लागि विशेष अभियान सञ्चालन गरेको थियो । त्यसअघि संस्थाले सन् २००८ मा गैरआवासीय नेपाली संघ यूकेसहित विभिन्न सामुदायिक संघसंस्थासंग मिलेर आफ्नै पहलमा बेलायतमा रहेका नेपालीहरुको तथ्यांकसमेत संकलन गरेको थियो । 

यीनै अध्ययनमा आधारित रहेर सिएनएस यूकेले ‘नेपालिज् इन युके: एन ओभरभ्यू’  (२०१२) लगायत थुप्रै पुस्तक तथा लेख रचना प्रकाशित गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू