बुधबार, मंसिर २२, २०७८
06:36 | १२:२१

बेलायतमा संक्रमितले अस्पताल भरिएपछि बिरामीलाई होटलमा सार्न थालियो

नेपाली लिङ्क जनवरी १३, २०२१

लन्डन । बेलायतका अस्पतालमा भर्ना भएर उपचार गराइरहेका  हजारौं बिरामीहरुलाई डिस्चार्ज हुनुअघि नै होटलहरुमा सार्न थालिएको छ । पछिल्लो समय बेलायतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेसँगै यहाँका अस्पतालमा बेडहरुको अभाव हुन थालेपछि यस्तो कदम चालिएको हो ।

अस्पताल भर्ना हुने  कोरोना संक्रमितको संख्या बढेपछि हाल उपचारार्थ अस्पतालमा रहेका बिरामीलाई निर्धारित समय अगाडि नै होटल तथा घर  पठाउन शुरु गरिएको छ ।

कोरोना संक्रमणका कारण ‘क्रिटिकल’ अवस्थामा रहेका बिरामीको लागि आवश्यक बेड खाली गराउन अन्य बिरामी होटल सार्ने वा चाँडै घर पठाउने गरिएको हो ।  

‘होम एण्ड होटल’ भन्ने  नयाँ योजना अनुसार हाल अस्पतालमा रहेका बिरामीलाई होटल वा घर पठाउन लागिएको हो । यसरी  पठाइएका बिरामीहरुलाई सेन्ट जोन एम्बुलेन्स, ब्रिटिश रेड क्रस, आर्म फोर्सेस मेडिकल टीम तथा अन्य एनएचएस स्टाफले रेखदेख गर्नेछन् ।

साथै, अस्पतालबाट पहिले नै घर वा होटेल सारिएका बिरामीको रेखादेखमा परिवार तथा आफन्तहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ । बेलायतमा महामारीको पहिलो लहर चलेको समयको तुलनामा हाल  झन्डै दुई गुणा बढी कोरोना संक्रमित अस्पताल भर्ना  भएका छन् भने यो संख्या दैनिक रुपमा तीव्र दरमा बढ्दै गइरहेको छ ।

कोरोनाका कारण ज्यान जोखिममा परेकाहरुलाई उपचार गर्न र उनीहरुको ज्यान जोगाउने उद्देश्यले अस्पतालका बेड खाली  गर्न लागिएको अस्पताल प्रमुखले बताएका छन् ।

मंगलबार सार्वजनिक तथ्यांकअनुसार २४ घन्टामा थप ४५ हजार ५३३ जना नयां संक्रमित थपिएका थिए । बेलायतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ३१ लाख ६४ हजार ५१ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

एकहप्तामा मात्र झन्डै ३ लाख ९० हजार नयाँ  संक्रमित थपिएका छन् । हाल बेलायतका अस्पतालमा ३५ हजारभन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये तीन हजार ३६३ जनालाई भेन्टिलेटर बेडमा राखिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू