शनिबार, साउन १२, २०८१
06:11 | १०:५६

बेलायतबाट नेपाल जान अति जरुरी हुनेलाई दूतावासबाट सिफारिशपत्र

यात्रा प्रतिवन्धले कयौं बेलायतमै अलपत्र

नेपाली लिङ्क जनवरी १३, २०२१

लण्डन । बेलायतबाट नेपाल हवाइ उडान 
प्रतिवन्ध जारी रहंदा यहां नेपालीहरु अलपत्र परेका छन् । हवाइ प्रतिवन्ध तत्काल हट्ने सम्भावना न्यून भएपछि नेपाल फर्कनुपर्ने मानिसहरु विचल्ली परेका हुन् । लामो अन्योलले उनीहरुमा चिन्ता र आक्रोश दुवै छ ।

बेलायतमा कोरोना भाइरसको नयां भेरियन्ट (स्वरुप) फैलने क्रम अत्यधिक भएपछि नेपाल सरकारले डिसेम्बर तेश्रो सातादेखि गरेको हवाइ उडान प्रतिवन्ध अर्को सूचना नभएसम्मका लागि लागू रहनेछ ।

लन्डनस्थित नेपाली दूतावासले स्वदेश फर्कने चाहने नेपालीहरुको फोन कल दिनहुं आइरहेको जनाएको छ । दूतावासकी उपनियोग प्रमुख एवं प्रवक्ता रोशन खनालले नेपाल जानुपर्ने भनेर धेरै नेपालीको फोन आएको बताइन् ।

‘यो जोखिमका बेला सकेसम्म यात्रा नगर्न हाम्रो सुझाव छ’, खनालले नेपाली लिंकसंग भनिन्, ‘काजक्रिया वा अन्य अति आवश्यक कामको लागि नेपाल जान परे दूतावासले सिफारिश पत्र दिएर समस्या समाधान गर्ने गरेका छौं ।’

अहिलेसम्म कतिजनाले सिफारिशपत्र लिए, त्यो चाहिं उनले खुलाइनन् । बेलायतबाट यात्रा प्रतिवन्ध रहेपनि दूतावासबाट अति जरुरी अवस्थाको सिफारिशपत्र पाउनेहरु नेपाल उड्न सक्ने बताइएको छ ।

यात्रा प्रतिवन्धका कारण बेलायतमै अलपत्र बनेका केही पीडितले भने दूतावासमा आग्रह गरेपनि सिफारिशपत्र पाइनसकेका कारण नेपाल उड्न नपाएको बताएका छन् । सिफारिश दिने निर्णय दूतावास आफैले लिन नसक्ने भएकाले उनीहरुको आग्रहलाई नेपाल सरकारतर्फ रिफर गरिएको जवाफ दूतावासले दिएको उनीहरुले बताएका छन् ।

बेलायतमा कोरोना भाइरसको नयां स्वरुपको तीव्र फैलिन थालेपछि नेपालसहित विश्वका अन्य कयौं मुलुकले उडान प्रतिवन्ध लगाएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू