बुधबार, वैशाख २६, २०८१
05:38 | १०:२३

लिम्बुवान नागरिक समाज यूके साधारणसभाको तयारीमा

नेपाली लिङ्क जनवरी १२, २०२१


लन्डन । लिम्बुवान स्वायत्तताको पक्षमा सामाजिक ढंगले एक दशकभन्दा बढी समयदेखि क्रियाशील रहेको लिम्बुवान नागरिक समाज यूकेले आफ्नो आठौँ साधारणसभा सम्पन्न गर्ने भएको छ । केही समसामयिक विषयहरूमा महत्वपूर्ण निर्णय गर्न समेत समाजले साधारणसभा डाकेको हो ।

जनवरी १६ तारिखमा भर्चुल माध्यम जुममार्फत आठौँ साधारणसभा आयोजना हुने गरी सूचना प्रकाशित गरिसकेको अध्यक्ष छत्र वनेमले बताए । उनका अनुसार साधारणसभाले सांगठनिक, आर्थिक र विभागीय प्रतिवेदनहरू पारित गर्नेछ । यसैगरी, प्रदेशको पुनः संख्याकरण र नामाकरणसहित लिम्बूवानको नाम सुनिश्चित गराउन साधारणसभाले थप केही निर्णयहरू गर्ने समेत जानकारी दिए ।

त्यसैगरी, समाजका महासचिव लाहाङ चेम्जोङले कोभिड महामारीका कारण पुराना निर्णयहरूको कार्यान्वयनमा असर पुगेको स्वीकार्दै स्थिति साम्य हुनेबित्तिकै आफ्नो अभियानले गति लिने बताए । उनले संयुक्त लिम्बूवान आन्दोलनबाट मात्रै लिम्बुवान प्राप्त हुने भन्दै समाज एकिकृत शक्तिको पक्षमा रहेको जनाए । साधारणसभामा कार्यसमिति, सल्लाहकार, संस्थापक, सामाजिक संघसंस्था, राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुने महासचिव चेम्जोङले बताए ।

नेपालमा संघीयताको आन्दोलन चर्किरहँदा यूकेमा बसोबासमा गरिरहेका समर्थकहरूको भेलाले सन् २००९ सेप्टेम्बरमा स्व. प्रसाद थेवेको अध्यक्षतामा लिम्बुवान नागरिक समाज यूके (तत्कालीन लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूके) गठन गरेको थियो । समाजले पटकपटक विभिन्न अवसरमा पूर्वमा ऐतिहासिक शाषकीय पृष्ठभूमिका आधारमा लिम्बूवान प्रदेश कायम हुनुपर्ने माग अगाडि सार्दै आएको छ । नेपालमा हाल सात प्रदेशहरू रहेका छन् । लिम्बुवान दाबी गरिएको प्रदेश एकको नाम र राजधानी अझैसम्म पनि टुंगो लाग्न सकेको छैन ।

-अमित याक्थुङवे

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू