शुक्रबार, चैत १६, २०८०
13:41 | १९:२६

अरुणाले ‘पिपल्स् च्वाइस् अवार्ड’ जित्दा बेलायतका समर्थक दंग

नेपाली लिङ्क जनवरी १२, २०२१

लन्डन । काठमाडौंमा मंगलबार सम्पन्न ‘पल्सर स्पोर्ट्स अवार्ड’ को पिपल्स् च्वाइस् अवार्ड राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले जितेकी छन् ।

नेपाल खेलकुद मञ्चले आयोजना गरेको ‘पल्सर स्पोर्ट्स अवार्ड २०७७’ मा  मण्डेकाजी श्रेष्ठलाई पछि पार्दै अरुणाले ‘पिपल्स् च्वाइस अवार्ड’ हात पारेकी हुन् ।

यो अवार्डका लागि अरुणा शाही (भलिबल), गौरिका सिंह (पौडी), मण्डेकाजी श्रेष्ठ (कराते), साबित्रा भण्डारी साम्बा (फुटबल), सदिना श्रेष्ठ (बास्केटबल) मनोनयनमा थिए ।

दर्शकको भोटिङको आधारमा शाहीले सर्वाधिक भोट ल्याउँदै अवार्ड जितेकी हुन्।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अनुसार अरुणाले सर्वाधिक ३७.५२५ प्रतिशत मत प्राप्त गरेकी छन् भने मण्डेकाजी श्रेष्ठले २८.४५७ प्रतिशत, सदिना श्रेष्ठले १३.४९९ प्रतिशत, गौरिका सिंहले १३.३०१ प्रतिशत र सावित्रा भण्डारीले ७.२१८ प्रतिशत मत पाएका थिए ।  

बेलायतका समर्थकको बधाई 

राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले पिपुल्स् च्वाइस्  अवार्ड जितेकोमा बेलायतस्थित उनका समर्थकहरुले खुशी व्यक्त गरेका छन् ।  

उनलाई मत दिलाउन संचालित ‘अरुणा जिताऔं अभियान’ मा आर्थिक सहयोग पठाउने बेलायतका सहयोगीहरु उनले अवार्ड पाउंदा दंग बनेका छन् ।  

‘अरुणा जिताऔं अभियान’ लाई एक लाख रुपैयाँ बढीको आर्थिक सहयोग पठाएको मोना युथ यूकेका अध्यक्ष अनिल मल्लले अरुणा अवार्डका लागि सबैभन्दा उत्तम खेलाडी रहेकाले सहयोग गरिएको बताए । अरुणा कप्तान बनेपछि राष्ट्रिय महिला भलिबल टोलीको स्तर उन्नति भएको र केही महत्वपूर्ण सफलता समेत मिलेको उनले बताए ।  

म्याग्देली अरुणालाई अवार्डका लागि बधाई ज्ञापन गर्दै मल्लले भविष्यमा उनको थप सफलताको कामना गरे ।  

‘अरुणा जिताऔं अभियान’ लाई ५० हजार रुपैयाँ सहयोग गर्ने अल्डरसट भलिबल क्लबले पनि अवार्डको लागि अरुणालाई बधाई दिँदै खुशी व्यक्त गरेको छ ।  

क्लबका कोषाध्यक्ष विमल गुरुङले भने, ‘हामीलाई खुशी र गर्व लागेको छ । हाम्रो सहयोग पनि उनको यो अवार्डको हिस्सा बनेको महसुश गरेका छौं ।’ उनले क्लबका अध्यक्ष स्वर्ग गुरुङ, कप्तान शंकर थापासहित सहयोग जुटाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू