शुक्रबार, वैशाख ७, २०८१
08:34 | १३:१९

विश्वको दोस्रो अग्लो हिमालमा नयाँ रेकर्ड बनाउने निर्मलको प्रयास अधुरो

नेपाली लिङ्क जनवरी १२, २०२१


लन्डन । विश्व कीर्तिमानी युवा नेपाली पर्वतारोही निर्मल पुर्जाले विश्वको दोस्रो अग्लो हिमालमा नयाँ रेकर्ड बनाउन गरेको प्रयास यसपटकको लागि अधुरै रहेको छ । पाकिस्तान र चीनको बोर्डरमा अवस्थित ८ हजार ६ सय ११ मिटर अग्लो ‘के-टु’ हिमाललाई विन्टर सिजन (जाडो याम) मा सफल आरोहण गर्ने पहिलो आरोही बन्ने उनको लक्ष्य पूरा हुन नसकेको हो ।

निर्मलको तयारी र योजनाअनुसार गत साताको अन्त्यसम्ममा नै उनले ‘के-टु’ हिमालको शिखरमा पाइला राखिसक्नुपर्ने थियो । तर उनको लक्ष्यमा खराब मौसम वाधा बनेको छ ।

निर्मल र उनको आरोहण दलका सदस्यहरुले हिमालको दोस्रो क्याम्पसम्म पुर्याएका त्रिपाल र आरोहणका लागि आवश्यक अरु उपकरण एवम् सामग्री हावाले उडाइदिएपछि उनको योजना पूरा हुन नपाएको हो ।

आइतबार हिमालको बेस क्याम्पबाट फेसबुक स्टाटस लेख्दै निर्मलले आफ्नो यसपटकको योजना पूरा हुन नसकेको खबर शेयर गर्नुपर्दा आफू एकदमै दुःखी भएको बताएका छन् ।

‘आज हामी दोस्रो क्याम्पसम्म पुग्यौं । त्यहाँ हामीले जम्मा पारेर छोडेका त्रिपालहरु र हिमाल चढ्दा आवश्यक पर्ने अन्य सामग्रीहरु हावाले नष्ट गरेर उडाइसकेको रहेछ’ निर्मलले लेखेका छन्,’ हामीले हाम्रो किटहरु, स्लिपिङ ब्यागहरु, म्याट्रेसहरु, जुत्ताको हटेड सोलहरु, पञ्जाहरु, प्याराग्लाइडिङको सामग्रीदेखि खाना पकाउने इक्विपमेन्टसम्म सबैथोक गुमायौं ।’

‘के-टु’ हिमालको आरोहणका लागि अब फेरि शुरुदेखि तयारी गर्नुपर्ने भएको निर्मलले बताएका छन् । यही सिजनको अन्त्यतिर पूरा गर्ने गरी फेरि अब नयाँ योजना बनाउने उनको भनाइ छ ।

‘जीवनमा यस्ता ठक्करहरु अकाट्य छन्, अझ विशेषगरी तपाईं चुनौतीपूर्ण कामहरु गर्दै हुनुहुन्छ भने । तर यसबाट तपाईं थप बलियो मात्रै बन्नुपर्छ’, निर्मलले भनेका छन् ।

सगरमाथापछि विश्वकै अग्लो ‘के-टु’ आरोहणका लागि निकै अफ्ठेरो हिमाल हो । यो हिमालमा अहिलेसम्म जम्मा ३ सय ६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यान समेत गुमाइसकेका छन् । तर ‘विन्टर सिजन’ मा अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेका छैनन् । त्यही कीर्तिमान बनाउने प्रयासमा निर्मल छन् ।

यसअघि निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहणको विश्व किर्तिमान बनाएर अन्तरराष्ट्रिय स्तरमै ठूलो चर्चा कमाएका थिए ।

म्याग्दी जिल्लामा जन्मिएका निर्मल पूर्व बेलायती सैनिक हुन् । बेलायती महारानीबाट उनले प्रतिष्ठित ‘एमबीई’ पदक पाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू