शुक्रबार, वैशाख १४, २०८१
15:05 | १९:५०

महामारीको मारले बेलायतका लाखौं कम्पनी बन्द हुने खतरा, प्रभावित नेपाली पनि धेरै

नेपाली लिङ्क जनवरी ११, २०२१


लन्डन । कोरोना महामारीको असरस्वरुप बेलायतमा ठूलो संख्याका व्यवसायिक कम्पनीहरु बन्द हुने अवस्था सिर्जना भएको छ ।

बेलायतका साना व्यवसायहरुको प्रतिनिधित्व गर्ने महासंघ ‘फेडेरेसन अफ स्मल बिजनेसेज’ ले सरकारका तर्फबाट थप सहयोग व्यवस्था नभएको खण्डमा यही वर्षभित्र लाखौं कम्पनीहरु बन्द हुने चेतावनी दिएको छ ।

बेलायतभरका विभिन्न १४ सय साना व्यवसायहरुमा गरिएको एक सर्वेक्षणले कमसेकम ५ प्रतिशत व्यवसायहरु यही वर्षभित्र बन्द हुने तरखरमा रहेको देखाएको महासंघले जनाएको छ । यही अध्ययनका अधारमा पनि बेलायतमा रहेका कुल ५९ लाख साना व्यवसायहरुमध्ये २ लाख ५० हजार व्यवसाय बन्द हुने खतरा रहेको महासंघको दाबी छ ।

महासंघले टिक्नैका लागि संघर्षरत कम्पनीहरुको सहयोगका लागि तत्काल पहल अघि बढाउन सरकारसंग माग पनि गरेको छ । बेलायत सरकारले अहिले बाँडिरहेको राहत सुविधामा धेरै साना कम्पनीहरु छुटेको दाबी महासंघको छ ।

‘धेरै सेल्फ इम्पलोइड (स्वरोजगार) मानिसहरु अहिले पनि सरकारी सुविधाहरुबाट वञ्चित छन् । उनीहरुको लागि तत्काल सहयोगको व्यवस्था हुनु जरुरी छ’, महासंघले भनेको छ ।

सरकारले पछिल्लोपटक लकडाउनको घोषणासंगै रिटेल, हस्पिटालिटी र लिजर क्षेत्रलाई सिमित गरी ल्याएको राहत स्किम अन्य क्षेत्रलाई पनि बिस्तार गर्न महासंघले माग गरेको छ । महासंघका अध्यक्ष माइक चेरीले भने, ‘कम्पनीका डाइरेक्टरहरु, नयाँ स्वरोजगार कामदारहरु, सप्लाई चेनमा काम गर्ने र व्यवसायिक हाता (कमर्सियल प्रेमिसेस) नहुनेहरु अहिले खाली हात भएका छन् ।’

महासंघले अहिले बेलायतमा ७ लाखदेखि ११ लाखसम्म साना तथा स्वरोजगार कम्पनीहरुले सरकारको कुनै पनि राहत सुविधा नपाएको दाबी गरेको छ । उनीहरुको सहयोगका लागि तीन महिनाको मुनाफा कभर गर्न ७५ सय पाउण्डसम्मको ‘ग्रयान्ट’ व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

महासंघले आफ्नो प्रस्ताव बेलायती अर्थमन्त्रालयसमक्ष राखिसकेको बताएको छ । अर्थमन्त्रालय स्रोतले भने यसबारेमा कुनै निर्णय लिइनसकिएको जनाएको छ ।

प्रभावित नेपाली पनि धेरै

लण्डनस्थित ‘जिएनएस एशोसिएट्स’ का निर्देशक एवम् चार्टर्ड एकाउन्टेन्ट एलएन घिमिरे

महामारीका बेला बेलायत सरकारबाट उपलब्ध कुनै राहत सुविधा नपाउनेमा यहाँका नेपाली व्यवसायीहरुको संख्या पनि उल्लेख्य देखिएको छ ।

प्रायजसो सेल्फइम्पलोइड रुपमा काम गर्ने , आफै निर्देशक भएर नियमित तलब नलिइ लाभांश मात्रै लिने, कम्पनीमा काम गर्ने परिवारका सदस्य र अरु कामदार समेतलाई पे- रोलमा नराख्ने, कमर्सियल प्रेमिसेस अरुसंग शेयर गर्ने जस्ता व्यवसायीहरु सरकारी राहतबाट वञ्चित भएका हुन् ।

लण्डनस्थित ‘जिएनएस एशोसिएट्स’ का निर्देशक एवम् चार्टर्ड एकाउन्टेन्ट एलएन घिमिरेको अनुभवमा विभिन्न कारणले बेलायत सरकारबाट उपलब्ध राहत सुविधा नपाउने नेपाली व्यवसायीहरु थुप्रै छन् । धेरै नेपाली व्यवासायीहरुको लागि समेत काम गर्दै आएका उनले २० देखि तीस प्रतिशतसम्म नेपाली व्यवसायी सरकारी राहतबाट बञ्चित भएका हुन सक्ने आँकलन गरेका छन् ।

‘सरकारको राहत पाउन सेल्फइम्पलोइड हरुले २०१८-१९ को ट्याक्स रिटर्न बुझाएको हुनुपर्ने भनिएको छ । सन् २०१९ को अप्रिलपछि सेल्फ इम्पलोइड हुने सबैजना सरकारी राहतबाट बञ्चित भएका छन्’, घिमिरेले भने, ‘त्यसअघि काम शुरु गर्नेहरुमा पनि आवश्यक कागजात नमिलाएका, टयाक्स रिटर्न नबुझाएकाहरु कयौंले सरकारको राहत छुटाएका छन् ।’

सरकारले यसअघि स्थानीय काउन्सिलहरुमार्फत बाँडेको १० र २५ हजारको ‘ग्रयान्ट’ नपाउने नेपाली व्यवसायी समेत रहेको उनले सुनाए । ‘सरकारी ग्रयान्ट पाउन कम्पनीको नाममा बिजनेस रेट एकाउन्ट दर्ता भएको हुनुपर्ने नियम छ । यही मापदण्ड नपुग्दा कयौंले ग्रयान्ट पाउन सक्नुभएन’, उनले भने ।

‘कयौं नेपालीले आफ्नै परिवारका सदस्य मिलेर साना व्यवसाय चलाउनुहुन्छ । आफै निर्देशकमा बसेर तलब नलिने, लाभांश मात्रै लिने गर्नुहुन्छ । परिवारका सदस्यलाई र कतिपय अवस्थामा अरु कामदारलाई पनि पे-रोलमा राख्ने गर्नुहुन्न । उहाँहरु सरकारबाट प्राप्त फर्लो स्किमबाट पनि बञ्चित हुनुभएको छ’ , घिमिरे भन्छन्, ‘बेलायतजस्तो ठाउँमा पेपर वर्कलाई वेवास्ता गर्नुहुन्न । समयमै पेपरवर्क राम्रोसंग नगर्दा पनि कतिपयले सरकारले दिएका सुविधाहरु छुटाउनुपरेको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू