शनिबार, जेठ ५, २०८१
06:47 | ११:३२

बाग्लुङ ढोरपाटनमा स्वास्थ्य चौकी बनाउन गल्कोट समाज यूकेको ९ लाख सहयोग

नेपाली लिङ्क जनवरी ११, २०२१

लन्डन । गल्कोट समाज यूकेले बाग्लुङमा स्वास्थ्य चौकी बनाउन ९ लाख रुपैयां सहयोग गर्ने भएको छ ।

समाजको १० जनवरी आइतबार सम्पन्न पूर्ण (भर्चुअल) बैठकले 
ढोरपाटन नगरपालिका ९ स्थित स्वास्थ्य चौकी भवन निर्माण गर्न जग्गा खरिदका लागि रु ९ लाख रुपैयां दिने निर्णय गरेको समाजका अध्यक्ष राजु कंडेलले जानकारी दिए । उक्त परियोजनाका लागि बाग्लुङ समाज हङकङले पनि १५ लाख रुपैयां सहयोग गरेको कंडेलले बताए ।

गल्कोट समाजले बाग्लुङ समाज हङकङसंग सहकार्य गरि चन्दा संकलन अगाडि बढाएको थियो ।

स्वास्थ्य चौकी निर्माणमा बेलायत र हङकङको सहयोग प्राप्त भएपछि स्थानीय नेता र सर्वसाधारणले खुशी व्यक्त गरेका छन् ।

त्यसैगरि, समाजले गल्कोट नगरपालिका ३ नरेठांटीका पहिरो पीडित शेरबहादुर सुनारको घर मर्मतका लागि रु ५१ हजार रुपैयां सहयोग गर्ने निर्णय पनि गरेको छ । सहयोग रकम निकासी गर्न गल्कोट समाज युकेका कोषाध्यक्ष चन्द्र सहानीलाई जिम्मा दिइएको छ ।

समाजले गत असार १७ गते बाग्लुङ ढोरपाटन नगरपालिका ६, ७, ८ र ९ मा गएको भीषण बाढी पहिरोमा मृत्य भएका एवं विभिन्न क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माणमा सहयोग गर्न सहयोग संकलन अभियान शुरु गरेको थियो ।

समाजका अध्यक्ष कंडेलले मानवीय कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाता एवं कोरोना महामारीका बेला खटिने सबै स्वयंसेवकप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू