शनिबार, जेठ ५, २०८१
04:55 | ०९:४०

ब्रेक्जिटपछि झन् शक्तिशाली बन्यो बेलायती पासपोर्ट

नेपाली पासपोर्ट अन्तिमबाट नवौं शक्तिशाली

नेपाली लिङ्क जनवरी १०, २०२१

लण्डन । बहुप्रतिक्षित ब्रेजिक्ट प्रक्रिया हालै टुङ्गिएको छ । युरोपेली संघसंगको झण्डै ५ दशक लामो सम्बन्ध तोडिएपछि बेलायतले स्वतन्त्र र आत्मनिर्भर रुपमा आफ्नै नीति नियम कार्यान्वयनको अभ्यास शुरु गरिसकेको छ ।

ब्रेक्जिटका कारण बेलायतको अर्थतन्त्र, इमिग्रेसन, सुरक्षा लगायतका कयौं संवेदनशील मामिलामा तत्कालको लागि मात्र नभइ दिर्घकालसम्म प्रभाव पार्ने खालका परिवर्तनहरु हुंदैछन् । यस्तै, परिवर्तनहरुबीच विश्वमा बेलायती पासपोर्टको शक्ति र स्तरमा पनि ब्रेक्जिटपछि परिवर्तन आएको छ ।

विश्वकै शक्तिशालीमध्ये एक बेलायती पासपोर्ट पनि ब्रेक्जिटपछि पहिलेको तुलनामा झन शक्तिशाली बनेको छ । संसारमा कुन देशका पासपोर्ट कति शक्तिशाली छन्, कुन कुन देशमा स्वतन्त्र आवतजावत गर्न पाउँछन् भन्ने जस्ता विषयमा अध्ययन गर्ने ‘हेनली पासपोर्ट इन्डेक्स’को अध्ययनले ब्रेक्जिटपछि बेलायती पासपोर्ट झनै शक्तिशाली बनेको देखाएको छ ।

अध्ययनअनुसार विश्वका शक्तिशाली पासपोर्टहरुको सूचीमा यस वर्ष बेलायत सातौं स्थानमा आएको छ । सोही सूचीमा गत वर्ष बेलायत एक स्थान तल आठौं स्थानमा थियो । बेलायती पासपोर्टवाहकले भिसा नलिइकन नै विश्वका १ सय ८५ देशहरुको यात्रा गर्न सक्छन् ।

ब्रेक्जिटपछि बेलायत र युरोपेली संघबीच स्वतन्त्र आवतजावतको सम्झौता खारेज भएपनि धेरै युरोपेली देशहरुले बेलायती नागरिकलाई अझै पनि ‘भिसा फ्रि’ पहुँच दिने भएकाले बेलायती पासपोर्टको स्तर नखस्किएको हो ।

शक्तिशाली पासपोर्ट सूचीको पहिलो स्थानमा जापान छ । जापानी पासपोर्टवाहकले विश्वका १ सय ९१ देशमा भिजाबिना यात्रा गर्न पाउँछन् ।

दोस्रो स्थानमा रहेको सिंगापुर पासपोर्टवाहकलाई १ सय ९० तथा तेस्रो स्थानका साउथ कोरिया र जर्मनीका पासपोर्टवाहकलाई १ सय ८९ देशमा भिजाबिना यात्रा गर्ने छुट छ ।चौथो स्थानमा रहेका इटाली, फिनल्याण्ड, स्पेन र लक्जेम्बर्गका नागरिक विश्वका १ सय ८८ देश भिसा बिना जान पाउँछन् ।

शक्तिशाली सूचीको पाँचौं स्थानमा डेनमार्क र अष्टिया छन् भने छैठौं स्थानमा स्वीडेन, फ्रान्स, पोर्चुगल, नेदरल्याण्ड र आयरल्याण्ड छन् ।ती देशका नागरिकलाई क्रमशः १ सय ८७ र १ सय ८६ देशको यात्रा गर्न भिसा आवश्यक पर्दैन ।

त्यस्तै, सातौं स्थानमा बेलायतसंगै अमेरिका, स्वीजरल्याण्ड, नर्वे, बेल्जियम र न्यूजिल्याण्ड छन् भने आठौं स्थानमा ग्रिस, माल्टा, चेक रिपब्लिक र अष्ट्रेलिया छन् । सूचीमा नवौं स्थानमा क्यानडा र दशौंमा हंगेरी छन् ।सातौं, आठौं, नवौं र दशौं स्थानमा रहने देशका पासपोर्ट वाहकहरुलाई क्रमशः १ सय ८५, १ सय ८४, १ सय ८३ र १ सय ८१ देशमा भिसा नलिएरै जान सक्ने सुविधा छ ।

शक्तिशाली पासपोर्टको सूचीमा नेपाल भने अन्तिमबाट नवौं स्थानमा छ । नेपालभन्दा पछि लिविया, प्यालेस्टाइन, यमन, सोमालिया, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् । नेपाली पासपोर्टवाहकले विश्वका विभिन्न ३८ देशमा भिसाबिना यात्रा गर्न सक्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू