शनिबार, जेठ ५, २०८१
07:34 | १२:१९

बेलायतमा गोर्खा आन्दोलनमा सक्रिय पूर्व गोर्खाको कोभिडले निधन

नेपाली लिङ्क जनवरी ९, २०२१


लण्डन । कोभिड संक्रमणबाट बेलायतमा थप एक नेपालीले ज्यान गुमाएका छन् ।

अल्डरसटमा बस्दै आएका ७५ वर्षीय रणबहादुर लिम्बूको शुक्रबार उपचारका क्रममा स्थानीय फर्मली पार्क अस्पतालमा निधन भएको हो ।

कोभिड संक्रमण भएर अस्पताल भर्ना भएको ९ दिनपछि उनको निधन भएको मृतककी श्रीमती रुपा लिम्बूले नेपाली लिंकलाई जानकारी दिइन् ।

स्वर्गीय लिम्बूका श्रीमती र तीन छोरा छन् । दुई छोरा बेलायती सेनामै कार्यरत छन् भने कान्छा छोरा बाबुआमासंगै छन् ।

‘घरमा सबैजनालाई ज्वरो आएपछि डिसेम्बर २४ मा टेस्ट गराएका थियौं । हामी श्रीमान श्रीमती र माइला छोरालाई पोजिटिभ देखियो । जेठो छोरालाई पहिले नै लागेर निको भएको थियो’, मृतककी श्रीमती रुपाले भनिन्, ‘हामी अरु त ठीकै थियौं । श्रीमानलाई श्वासप्रश्वासमा गाह्रो हुन थालेपछि डिसेम्बर ३१ का दिन एम्बुलेन्स बोलाएर अस्पताल पठाएका हौं ।’

अस्पताल भर्ना भएपछि पनि अवस्था सुधार आउन नसकेका उनको शुक्रबार दिउँसो साढे एक बजे निधन भएको जानकारी अस्पतालले परिवारलाई गराएको छ ।

परिवारका अनुसार पहिलेदेखि नै मधुमेहका बिरामी थिए लिम्बू । गत वर्ष मात्रै उनको एउटा खुट्टाको अप्रेसन गरी काटिएको थियो । ताप्लेजुंगको सिकैचा पुख्र्यौली भएका लिम्बूको परिवार पछि दमकमा सरेको थियो ।

सामाजिक कार्यहरुमा रुची राख्ने उनी गोर्खा आन्दोलनमा निकै सक्रिय थिए । गेसो अल्डरसट शाखाको उनी सल्लाहकार थिए ।

‘संस्था भनेपछि मनैदेखि माया गर्ने मान्छे हुनुहुन्थ्यो । हरेक काममा डटेर लाग्ने स्वभाव थियो’, गेसोका कार्यवाहक सभापति धर्म तामाङले भने, ‘उहाँको निधनले हाम्रो संस्था र सिंगो अभियानमा ठूलो क्षति भएको महशुस गरेका छौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू