बिहीबार, वैशाख १३, २०८१
08:25 | १३:१०

लण्डन बस्दै आएका गायक बद्री केसीले गरे आत्महत्या

नेपाली लिङ्क जनवरी ९, २०२१


लण्डन । विगत केही वर्षदेखि बेलायतमै रहेका गायक/कलाकार बद्री केसीले आत्महत्या गरेका छन् ।

लण्डनको एजवेरमा बस्दै आएका ३२ वर्षीय केसी रुखमा झुण्डिएको अवस्थामा शनिबार बिहान शव प्राप्त भएको लण्डनस्थित उनकै सहकर्मी राम थपलियाले नेपाली लिंकलाई जानकारी दिए ।

शुक्रबार दिउँसो करिब पौने ४ बजे निराश भावको फेसबुक स्टाटस लेख्दै आफ्ना साथी, परिवार र संसारलाई नै ‘गुडबाई’ लेखेका केसी आफै काम गर्ने स्थानीय मिल हिल स्कुलको हाताको सुनसान ठाउँमा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

शुक्रबार बिहान एघार बजे घरबाट निस्किएका उनको फेसबुक स्टाटस देखेपछि सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । बेलुका अबेरसम्म खोजी गर्दा पनि उनी भेटिएका थिएनन् ।

आत्महत्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसा समेत परिवारका सदस्यलाई ‘ट्रान्सफर’ गरेको पाइएको छ ।

केसीको आत्महत्याको कारण स्पष्ट भइसकेको छैन । उनको शव अहिले प्रहरीको नियन्त्रणमा छ र प्रहरीले यसबारे आफ्नो अनुसन्धान अघि बढाएको छ ।

पोखरा घर भएका केसी झण्डै डेढ दशकअघि अध्ययनका लागि बेलायत आएका थिए । केही वर्षअघि नेपाल फर्किएका उनी पछि फेरि बेलायत आएका हुन् ।

लण्डनको एजवेरस्थित मिल हिल स्कुलमा क्याटरिंग सुपरभाइजरको रुपमा कार्यरत थिए बद्री । कलाकारितामा पनि निकै सिपालु केसी बेलायतको नेपाली समुदायमा एक लोकदोहोरी गायकको रुपमा परिचित थिए । उनले अल्डरसटको निरमाया रोधीघरमा सन् २००९ देखि झण्डै पाँचवर्षसम्म लोकदोहोरी गायकका रुपमा काम गरेका थिए । बेलायतका कयौं ठाउँमा आयोजना हुने कार्यक्रममा समेत उनले प्रस्तुति दिने गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू