शुक्रबार, वैशाख ७, २०८१
01:54 | ०६:३९

२१ दिने निःशुल्क अनलाइन वेलनेस सेसन शुरु

नेपाली लिङ्क जनवरी ९, २०२१

लण्डन ।  क्यान इन्टरनेशनल, अल्डरसट इम्पावरमेन्ट ग्रुप र स्याङ्जाली समाज यूकेले संयुक्त रुपमा २१ दिने अनलाइन ‘वेलनेस सेसन’ आजबाट शुरु भएको छ । कोरोना भाइरसले विश्व अस्तव्यस्त बनाइरहेको बेला निशुल्क वेलनेस सेसन भएको हो ।

विशेषगरि जेष्ठ नागरिकहरुमा लक्षित उक्त सेसन आज शनिबार ९ जनवरीदेखि २९ जनवरीसम्म प्रत्येक बिहान १० देखि ११ बजेसम्म सञ्चालन हुने छ ।

मानिसको मन, मस्तिष्क र शरीरलाई स्वस्थ एवं तन्दुरुस्त राख्न योग, ध्यान र व्यायामले महत्वपूर्ण भूमिका खेल्ने हुंदा सोही कुरा मध्यनजर गर्दै ति संस्थाले योग, ध्यान र व्यायामसहितको सेसन सञ्चालन गर्न लागेका हुन् ।

उक्त सेसनमा मनोक्रान्ति बेलायतका प्रवर्तक योगी नगेन्द्र राज नेम्बाङ्गले योग, ध्यान, व्यायाम, रेकीसंगै बाँच्ने कलाबारे आफ्नो अनुभव सुनाउने छन् । त्यस्तै, उक्त सेसनका संयोजक एवं ताइची प्रशिक्षक मान गुरुङले ताइची प्रशिक्षण, पश्चिमी हिलिङ, भोजनसंगै वेलनेस लगायत विषयमा बताउने कार्यक्रम छ ।

‘हाम्रो शरीरलाई कस्तो खुराक चाहिन्छ, कस्तो खालको व्यायाम गराउनु पर्छ, हाम्रो शरीरमा पूर्वीय दर्शनमा आधारित योग, ध्यान र व्यायामले के कस्तो भूमिका खेल्छ भन्ने बारेमा हामीले सिकेको कुरा अरुलाई पनि सिकाउने उद्देश्य अनुरुप कार्यक्रम गर्न लागिएको हो’ संयोजक मान गुरुङले भने ।

२१ दिनसम्म लगातार अभ्यास गरियो भने कुनै पनि क्षेत्रमा सफलता पाउन सकिन्छ भन्ने विश्वास साथ उक्त २१ दिने अनलाइन निःशुल्क सेसन सञ्चालन गर्न लागिएको संयोजक गुरुङले बताए । जुम प्रविधिमार्फत सञ्चालन गर्न लागिएको उक्त वेलनेस सेसनमा १०० जनाले मात्र भाग लिनसक्ने भएकाले आफ्नो सीट सुरक्षित राख्न संयोजक गुरुङले अनुरोध गरेका छन् ।

उक्त सेसन्सले शरीरको पाचनक्रिया मजवुत बनाउने, इम्यून सिस्टम बढाउने, स्टे«स कम गराउने अर्थात् डर त्रास र भयबाट छुट्कारा दिलाउने संयोजक गुरुङको दावी छ । गुरुङले २१ दिने सेसनले एकातिर स्वस्थ जीवन कसरी जीउनेभन्नेबारे सिकाउने र अर्कोतर्फ सिक्ने क्षमतामा समेत अभिवृद्धि गराउने बताए ।

स्मरण रहोस्, क्यान इन्टरनेशनलले जेष्ठ नागरिकहरुमा केन्द्रित विभिन्न परियोजना तथा कार्यक्रम गर्दै आएको छ । त्यस्तै, अल्डरसट इम्पावरमेन्ट ग्रुपले विगत दुईवर्ष देखि सशक्तिकरण सम्बन्धी विभिन्न कार्यक्रम गर्ने क्रममा कोभिड–१९ पछि गत अप्रिल महिनाभर प्रत्येक साँझ अनलाइनमार्फत योग, ध्यान र व्यायाम सञ्चालन गरेको थियो ।

पूर्ण गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू